राजनीति

कानुनमन्त्रीको काइदाः क्वार्टरमा जोतेरै लगाए तरकारी

कानुनमन्त्रीको काइदाः क्वार्टरमा जोतेरै लगाए तरकारी

ललितपुर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् ।

 

सोमबार बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नम्बर–१ की प्रदेशसभा सदस्य उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका लागि उपस्थित थिए ।

 

उनले क्वाटरमा कार्यरत् कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यहीँ फलाउन निर्देशनसमेत दिए । मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्नेक्रम रोक्नका लागि आफूले यहाँको जमिन खनजोत गर्न थालेको बताए ।

 

‘मन्त्री क्वाटरमा रहेको जमिनमा तरकारी लगाए यहाँ तरकारी किन्नुपर्दैन’–उनले भने–‘अब सबै मन्त्रीहरूमा कसले राम्रो तरकारी फलाउने भन्ने प्रतिस्पर्धा हुनुपर्छ ।’

 

नेपालमा भित्रिने धेरै विप्रेषण खाद्यान्न खरिदकै लागि विदेशिने गरेको छ भन्दै उनले झन्डै रु एक खर्ब खाद्यान्नका लागि बाहिरिने गरेको तथ्यांक उल्लेख गरे ।

 

उनले अबको दुई वर्षमा नै नेपाललाई खाद्यान्न, फलफूल, दूधलगायतमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याए । जमिन बाँझो राख्न नहुने कानुनी व्यवस्थालाई कडाइका साथ लागू गराउन पहल गरिनेमा पनि मन्त्री तामाङले जोड दिए ।

विशेष