मुख्य समाचार राजनीति

देउवाले हारको जिम्मा नलिएसम्म कांग्रेस बैठक नटुंगीने संकेत !

देउवाले हारको जिम्मा नलिएसम्म कांग्रेस बैठक नटुंगीने संकेत !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने भनिएको प्रतिवेदनमा सहमति जुटाउने प्रयास जारी छ । सहमतिका लागि सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताबीच अहिले छलफल चलिरहेको छ ।

 

महामन्त्रीले प्रस्तुत गर्ने मस्यौदामा सहमति हुन नसक्दा शनिबार बस्ने भनिएको बैठक बस्न सकेन । आज बिहान ९ बजेका लागि तय भएको बैठक ११ बजे सम्म औपचारीक रुपमा शुरु भएको छैन । 

 

चुनावी हारको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने, विधान संशोधनका विषय तथा आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन् । गत चैत ९ देखि जारी बैठकमा झन्डै ७० जनाले आफ्नो धारणा राखेका थिए ।

 

बैठकमा उठेका जिज्ञासाको सभापति देउवाले जवाफ दिने छन् । शुक्रबार नै पदाधिकारीले जवाफ दिएर बैठक अन्त्य गर्ने बताइए पनि सहमतिका लागि शनिबारसम्म समय बढाइएको थियो । 

 

शनिबार बिहान ९ बजेका लागि तय गरिएको बैठक बस्न नसकेपछि शीर्ष नेताहरूले दिउँसो ३ बजेदेखि अनौपचारिक छलफल गरेर सहमतिको प्रयास गरेका थिए । तर, सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको थियो ।

 

बैठकमा उठेका धारणाहरुलाई समेटेर महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा नेताहरुबीच सहमति जुट्न नसकेको हाे । आज बस्ने बैठकमा सहमति जुटाएर महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

शेरबहादुर देउवा रामचन्द्र पौडेल नेपाली काँग्रेस बैठक

विशेष