राजनीति

पदाधिकारी मनाेनित गर्ने देउवाको तयारी,पाैडेल पक्षले गर्‍याे बैठक बहिष्कार

उपसभापतिमा निधी लगभग पक्का 

पदाधिकारी मनाेनित गर्ने देउवाको तयारी,पाैडेल पक्षले गर्‍याे बैठक बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयनकाे अन्तिम तयारिमा जुटेका छन् । सोमबार बस्ने पार्टीका निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक मनोनयनको निर्णय बुझिएकाे छ ।

 

बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी रहेको देउवाको निकट एक नेताले जानकारी दिए । 

 

विधानमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारीलगायत सबै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि देउवाले २६ महिनापछि बल्ल पदाधिकारी मनोनयनको तयारी गरेका हुन् । उनकाे उक्त निर्णयकाे पाैडेल पक्षयले कडा अालाेचना गरेकाे छ ।

 

उपसभापतिमा निधी लगभग पक्का 

सभापति देउवा निकट नेताहरुका अनुसार उपसभापतिमा विमलेन्द्र निधीलाई मनोनयन गर्ने लगभग पक्का जस्तै छ । नेताहरु गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि उपसभापति पाउनुपर्ने दावी गरिरहे पनि सभापति देउवाले निधीलाई उपसभापतिका रुपमा प्रस्ताव गर्ने तयारी गरेका छन्  ।

 

महामन्त्रीमा कार्की वा खड्का 

यस्तै, सभापति देउवाले पार्टीको महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र पूर्णवहादुर खड्कामध्ये एकजनालाई महामन्त्री नियुक्तीको प्रस्ताव गर्ने बुझिएकाे छ । दुईजनामध्ये एकजनालाई महामन्त्री र एकजनालाई पार्टी संगठन विभाग प्रमुखको जिम्मेवारी दिने तयारी रहेको देउवा निकट एक नेताले बताए । 


यस्तै, सहमहामन्त्रीमा डाक्टर प्रकाश शरण महत, रमेश रिजाल, मानबहादुर विकमध्ये एकजनालाई अघि सार्ने देउवाको तयारी रहेकाे उनले बताए  । कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट पदाधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

 

पौडेल पक्षकाे बैठक बहिष्कार

पार्टी विधानमा महाधिवेशन भएको २ महिनाभित्र पदाधिकारीलगायत सबै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि अहिले अाएर नियम विपरित गर्न लागिएकाे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षकाे अाराेप छ ।

 

साथै सभापति देउवाले तीनै पदमा आफू निकटका नेताहरुलाई नियुक्त गर्ने तयारी गरेपछि पौडेल पक्षका नेताहरु झनै अाक्राेश भएका छन् । उनीहरूले अाफूहरू बैठकमा पनि नजाने बताएका छन् । देउवाले बहुमतका आधारमा पनि आफू अनुकुलको निर्णय गर्नसक्ने संकेत देखाएपिछ पौडेल पक्षले बैठक बहिष्कार गरेर विरोध जनाउने भएको हो । 

 

६४ सदस्यीय रहे पनि खुमबहादुर खड्काको निधन पछि कांग्रेसको केन्द्रीय कार्यसमिति ६३ सदस्यीय छ । अधिवेशनका बेला देउवाको पक्षमा रहेका केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ्ग, चन्द्र भण्डारी र प्रदीप पौडेल अहिले रामचन्द्र पौडेल पक्षमा लागेका छन् । तैपनि केन्द्रिय कार्यसमितिमा देउवा पक्षको बहुमत छ । 

 

शेरबहादुर देउवा रामचन्द्र पौडेल विमलेन्द्र निधी

विशेष