सुर्खेतमा प्रदेश हाँक्ने मन्त्रीको गाडी नै तोडफोड भएपछि...
सुर्खेत । कर्णाली प्रदेशका सांसदहरूले प्रदेश हाँक्ने मन्त्रीकै सुरक्षा नभएको भन्दै सुरक्षाको माग गरेका छन् । बुधवार बसेको संसद बैठकमा अधिकांश संसदहरुले सुरक्षाको माग गरेका हुन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले शैक्षिक गुणस्तरको माग गर्दै केहि दिन अघि बाट आन्दोलन गर्दै आएका छन् | विश्वविद्यालयका विद्यार्थीले स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति आदित्यविक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधवार विहानै बाट विरोध प्रर्दशन गरेका थिए । सडकको बीच भागमा प्रदर्शन गरिरहेका विद्यार्थी आक्रोसित हुदैँ आउँदै गरेको भौतिक पूर्वाधार मन्त्री खड्ग खत्रीको झण्डावाला गाडीमा तोडफोड गरेका थिए ।
आन्दोलनरत विद्यार्थीहरुले विश्वविद्यालयको गेट अगाडि गाडी तोडफोड गरेका हुन् । गाडीको अगाडि भागको सिसा चर्केको, झण्डा बाङ्गिएको छ । यद्यपी मन्त्रीको झण्डावाला गाडी भएपनि सांसद धर्मराज रेग्मी सवार रहेका थिए । सोहि विषयलाई लिएर संसद बैठकमा अधिकांश संसदहरुले सुरक्षाको माग समेत गरेका हुन् । सांसद रेग्मीले आफूमाथि सांघातिक आक्रमण भएको बताए ।
घटना लगत्तै आफुले प्रदेश प्रहरी कार्यालयमा खवर गरेको झण्डै आधा घण्टा सम्म नआएको उनको भनाई छ । ‘प्रदेश प्रहरी कसले चलाउँछ, कसरी चल्दैछ ?’ उनले भने, ‘मन्त्री र सांसदको सुरक्षामा त लापरबाही छ भने सर्वसाधारणको अवस्था झन के कस्तो होला ?’
त्यस्तै, अर्का सांसद अमरबहादुर थापाले प्रदेश सरकार सुरक्षाको क्षेत्रमा फितलो भएको बताए । यसरी दिनदाहडै मन्त्री र सांसदमाथि आक्रमण हुनु दुखद भएको बताए । सरकारले पहिले आफुहरु सुरक्षीत हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी, सांसद सीताकुमारी नेपालीले सांसद रेग्मीमाथि गुण्डागर्दी शैलीमा आक्रमण भएको बताइन् ।
संसदमा उठाएका सवालहरुलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले घटनामा संलग्न दोषिहरुलाई खोजीरहेको बताए । तत्काल दोषिलाई कानून बमोजिम कारवाहिको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।