मुख्य समाचार समाज

सिण्डिकेट तोडिँदै, अब देशभर सबैले रुट परमिट पाउने

सिण्डिकेट तोडिँदै, अब देशभर सबैले रुट परमिट पाउने

काठमाडौं । सरकारले सार्बजनिक यातायातमा बिगत लामो समय देखि चल्दै आएको अवैध सिन्डिकेट प्रथा तोडेर यसमा सबैको सहज पहुँच बनाउने भएको छ।

 

केही सीमित व्यवसायीले राजनीतिक संरक्षणमा मनपरी ढंगले सिण्डिकेट प्रथा चलाउँदै आएकामा सरकारले त्यसमा हस्तक्षेक्ष गरेपछि सिण्डिकेट तोडिने आशा पलाएको छ। 

 

ती सिण्डिकेट संचालकले हालैका दिनमा पनि दादागिरी देखाएर सरकारलाई नै चुनौति दिएपछि यातायात व्यवस्था विभागले देशभरका सबै सडकमा रुट परमिट खुला गरेर उनीहरुको अवैधजालो तोडेको छ ।

 

विभागले सबैतिर रुट परमिट खुला गर्न देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएर अरु यातायात व्यवसायीलाई स्वस्थ्य व्यवसायिक प्रतिष्पर्धा गर्न मार्ग प्रशस्त गरिदिएको छ ।

 

ऐनमै छ व्यवस्था

यातायात व्यवस्था ऐनमा प्रवन्ध गरिएको खुला प्रतिस्पर्धाको प्रावधानका आधारमा देशभरका सबै रुटहरुमा ईच्छुक नयाँ सवारीलाई रुट परमिट दिन विभागले निर्देशन दिएको हो ।

 

तर सरकारले सिन्डिकेट हटाउने कडा कदम चाले पनि देशभरका सार्वजनिक यातायातमा अझै पनि अघोषित सिन्डिकेट चलिरहेकै छ । सुरुमा केहीदिनअघि अरनिको राजमार्गमा भने सिन्डिकेट तोड्न विभाग सफल भएको छ ।

 

केहीदिन अघि मयुर यातायातले काठमाडौं बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा सिण्डिकेटधारी समितिले विरोध गरेका थिए । उनीहरुले सिन्डिकेट कायम राख्न सवारी नै बन्द गरेर आन्दोलन गरेका थिए । तर, सरकारले उनीहरुको आन्दोलनका सामू झुक्नुको साटो थप कम्पनीलाई रुट अनुमति दिएपछि सिन्डिकेट तोडिएको छ । यसबाट उत्साहित भएको विभागले देशभरका सडक पनि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।

 

परिपत्र जारी

मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन शुक्रबार निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले बताएका छन्।

 

‘यो ऐनमै भएको व्यवस्था हो । अब कुनै पनि रुटमा जो जान चाहे पनि रोकिने छैन’ महानिर्देशक भट्टराईले भने, ‘स्वच्छ प्रतिस्पर्धाका लागि सबै रुटमा इजाजत खुला गर्न लागेका हौं । अब देशभर नै सिन्डिकेट तोड्नुपर्छ ।’

 

अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट नरोकिने उनले बताए । ‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ । कसैले विरोध गर्दैमा सिन्डिकेट राख्न सकिन्न’ विभागका महानिर्देशक भट्टराईले भने, कुनै पनि रुटमा अरुलाई निषेध गरेर आफ्नो मात्र सवारी चलाउने दिन सकिए ।’ निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागको चेतावनी छ ।

 

अहिले पश्चिम नेपालका साथै पृथ्वी राजमार्ग र बटुवलबाट पश्चिम जाने रुटहरुमा सिन्डिकेट छ । छोटा दूरीका रुटहरुमा पनि सहजै नयाँ गाडीले प्रवेश पाउने अवस्था छैन । तर, देशभर रुट इजाजत खुला गर्ने नयाँ निर्णयसँगै राजमार्गको लामा रुटहरुमा पनि नयाँ बस कम्पनीहरु आउने यातायात व्यवस्था विभागको दाबी छ ।
 

विशेष