मुख्य समाचार राजनीति

प्रधानमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्न चासो देखाएनन्

प्रधानमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्न चासो देखाएनन्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित सरकारका २१ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्न चासो देखाएका छैनन् । ओली प्रधानमन्त्री भएको डेढ महिना पुगिसकेको छ । 


कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भने पदमा नियुक्त भएसँगै आफ्नो र परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । कानुनमन्त्रीबाहे अन्य २१ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रजातन्त्र आएपछि बनेका लोकतान्त्रिक सरकारले नागरिकप्रतिको जिम्मेवारी बहनगर्न र सुशासनको प्रत्याभूति दिन सरकार गठन भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी बसालेका थिए ।


मन्त्रिपरिषद् बैठकले सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिकीबारे निर्णय गर्ने र सोहीअनुरूप मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । ओलीनेतृत्वको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेबारे हालसम्म निर्णय गरेका छैनन् ।


भ्रष्टाचार निवारण ऐन २०५९ मा सार्वजनिक पदमा नियुक्त प्रधानमन्त्री तथा मन्त्रीले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

सम्पत्ति केपी ओली चासो

विशेष