दिल्लीमा प्रधानमन्त्रीले भने, 'तपाईंहरुलाई घर फर्कने वातावरण बनाउँछु'
नयाँदिल्ली । प्रधानमन्त्री केपी ओलीले भारतमा रहेका नेपालीलाई ‘नेपाल बनाउने’ आफ्नो अभियानमा साथ दिन स्वदेश फर्कन आह्वान गरेका छन् ।
बाह्रखम्बास्थित नेपाली दूताबासमा आयोजित कार्यक्रममा प्रवासी नेपालीलाई सम्बोधन गर्दै ओलीले भने, ‘म नेपाल बनाउन अघि बढिसकेको छु । भारतमा रहेका नेपालीले यसमा सहयोग गर्नुपर्छ । अब तपाईहरु यहाँ बसेर होइन, नेपाल फर्केर काम गर्ने अवस्था निर्माण गर्नेछौं । देशको तपाईंहरूलाई जति चिन्ता छ, त्यसभन्दा बढी गम्भीर भएर मैले काम थालेको छु ।’
देशमा स्थायी सरकार बनिसकेको र त्यसले नेपालीको विकासप्रतिको आकांक्षा पुरा गर्ने उनले दावी गरे । त्यसैगरी आफूले लोकतन्त्र, शान्ति र मानवअधिकारप्रतिको प्रतिबद्धतामा कुनै सम्झौता नगर्ने उनले बताए ।
कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । दूतावासको प्रांगणमा भएको कार्यक्रम अचानकको हावाहुरीले बिथोलियो । सहभागीबीच भागाभाग चल्यो । उनीहरुले आफ्नो ज्ञापनपत्रसमेत बुझाउन पाएनन । ओलीले करिब पाच मिनेट सम्वोधन गरेपछि हावाले धुलो उडायो । ओलीलाई सुरक्षाकर्मीले तत्काल राजदूत निवास लगेका थिए । उनले त्यहीं ज्ञापनपत्र बुझदै प्रवासीका समस्या सुनेका थिए ।
प्रवासी नेपालीको संगठनले संयुक्त रुपमा १६ बुदे माग राखेका छन् । उनीहरुले भारतमा निधन हुने नेपालीका हकमा पनि अन्य मुलुकमा झैं दुर्घटना बिमाको व्यवस्था गर्न आग्रह गरेका थिए । आधार कार्ड अनिवार्य बनाएपछि पेन्सनबाट वञ्चित हुनुपर्ने समस्याबारे अवगत गराएका थिए । उनीहरुले बैंक खातालगायत पुराना समस्या सुनाएका थिए । प्रवासी नेपालीलाई मतदाता सूचिमा सुचिकृत गराउन पनि उनीहरुले आग्रह गरे । प्रधानमन्त्रीले सबै समस्या समाधानमा मिल्नेसम्म पहल गर्ने आश्वासन दिएका थिए ।