प्रधानमन्त्री ओली भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको निजी विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने अजरबैजानको बाकुबाट सीधै नयाँदिल्ली जानेछन् । उनी असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन बाकुमा छन् । यस्तै संघीय संसदका दुवै सदनका गरेर नौ जना सांसद भ्रमण टोलीमा सहभागी छन् ।
सांसदहरू दीनानाथ शर्मा र रामेश्वर राय यादव, एमालेबाट गणेशसिंह ठगुन्ना, रामवीर मानन्धर र शान्ता चौधरी, कांग्रेसबाट सांसदहरू उमा रेग्मी र सीताराम महतो राष्ट्रिय जनता पार्टीबाट शरदसिंह भण्डारी, संघीय समाजवादी फोरम नेपाल पार्टीबाट विमल श्रीवास्तव पनि टाेलीमा छन् ।
ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।
प्रधानमन्त्री ओली इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । ओली भ्रमण सकाएर आइतबार स्वदेश फर्कने छन् ।
भारत भ्रमण प्रधानमन्त्री केपी शर्मा ओली