मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीले परामर्श नगरी सचिव सरुवा गरेकाे भन्दै माओवादी मन्त्रीहरू असन्तुष्ट

प्रधानमन्त्री ओलीले परामर्श नगरी सचिव सरुवा गरेकाे भन्दै माओवादी मन्त्रीहरू असन्तुष्ट

काठमाडौँ । सरकारले एकसाथ ३० जना सचिवहरुको सरुवा गरेको विषयमा माओवादी केन्द्रका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् ।

 

गृहमन्त्री रामबहादुर थापा बादलको सरकारी निवासमा शुक्रबार बसेको बैठकमा माओवादीका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त परामर्श नगरी सचिवहरुको सरुवा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा हरेक १५ दिनमा बस्ने गरेको यो बैठकमा सचिव सरुवालाई लिएर केही मन्त्रीले रोष प्रकट गरेका हुन् ।

 

प्रचण्डको निर्देशन अनुसार दोस्रो पटक बसेको माओवादी मन्त्रीहरुको बैठमा प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेकाले मातृका यादव भने सहभागी थिएनन् । बैठकमा अन्य सबै मन्त्री सहभागी थिए ।

 

सरकारको काम कारबाहीको समिक्षाका लागि बस्ने यो बैठकमा सचिव सरुवाको विषयमा केही आफूकहाँ राम्रै सचिव आएको बताएका थिए भने केहीले भने तीब्र असन्तुष्टि जनाएका थिए ।

 

'बैठकमा सचिव सरुवा लगायत विषयमा छलफल भएको थियो', माओवादीका एक मन्त्रीले भने, 'केही मन्त्रीले ठीकै सचिव आएको बताए पनि केहीले भने असन्तुष्टि जनाएका थिए ।'

 

ती मन्त्रीका अनुसार यसैका आधारमा पार्टीले प्रधानमन्त्रीसँग असन्तुष्टि पोख्नुपर्ने कुरामा कुनै चर्चा नभएको उनले बताए । 'छलफलका एजेण्डाका रुपमा भन्दा भैपरी आएका घटनाको समिक्षाका क्रममा यो विषय उठेको हो', ती मन्त्रीले भने, 'तर ओलीले जति परामर्श गर्नुपर्ने हो, त्यसो नगरी सचिव सरुवा गरिँदा केही मन्त्रीलाई असजिलो भएको छ ।'

 

बैठकमा पनि सचिव सरुवामा परामर्श नगरेको धारणा केही मन्त्रीले राखेका थिए । 'यसबारे कुरा उठेको हो, तर प्रम ओलीसँग यो विाष्यमा आपत्ति जनाउनेबारे कुनै निर्णय भएको छैन', ती मन्त्रीले भने, 'छलफलमा कुरा मात्र उठेको हो । त्यो भन्दा धेरै अरु केही भएको होइन ।'

सचिव सरुवा असन्तुष्टि

विशेष