मुख्य समाचार राजनीति

नेपालसँगको १९५० को सन्धि पुनरावलोकन गर्न मोदी तयार

नेपालसँगको १९५० को सन्धि पुनरावलोकन गर्न मोदी तयार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि तयार भएका छन् । 

 

शुक्रबार राति नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो सरकारी निवासमा ‘वान टु वान’ वार्ता गरेका भारतीय प्रधानमन्त्रीले सन्धि पुनरावलोकन गर्न सकारात्मक रहेको ओलीलाई बताएको स्रोतलाई उल्लेख गर्दै इन्डियन एक्सप्रेसले जनाएको छ । 

 

१९५० को सन्धिको पुनरावलोकन र संशोधन ओलीको मुख्य एजेन्डा हो जसलाई उनले चुनावका बेला पनि भनेका थिए, हामीले पनि यसलाई गम्भीरतका साथ लिएका छौं, उच्च स्रोतले भन्यो । शुक्रवार रातिको छलफलमा पनि यस विषयमा दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको दाबी गरिएको छ । 

 

ओली र मोदीबीच शनिवार हुने छलफलका क्रममा नेपालसम्म रेलवे जोड्ने, कृषि अनुसन्धान, शिक्षा लगातका अन्य क्षेत्रमा भारतले सहयोगको घोषणा हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

 

यसअघि शुक्रवार भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि संक्षिप्त प्र्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटघाट मुलुकलाई समृद्ध बनाउनेमा केन्द्रित र फलदायी रहेको बताएका थिए ।  

 

सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘प्रधानमन्त्री मोदीसँग नेपाल–भारत सम्बन्धलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्नेमा छलफल भयो । उहाँ पनि नेपालसँग राम्रो सम्बन्ध राखेर भारत अघि बढ्न चाहनेमा स्पष्ट हुुनुहुन्थ्यो ।’

 

प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध सधैं मित्रभावमा र सबै स्तरमा अघि बढाउनेबारे समेत छलफल भएको जानकारी दिए ।

 

‘नेपाल र भारतबीच असमझदारी यसअघि नै हटिसकेको छ,’ उनले थपे, ‘दुई देशबीचको पुरानो र घनिष्ट सम्बन्धलाई कसरी एकअर्काका परिपूरकका रूपमा थप प्रगाढ बनाउने भन्नेमा छलफल बढी केन्द्रित भयो ।’

 

नेपालका प्रधानमन्त्री केपी ओली तीन दिने राजकिय भ्रमणका लागि भारतमा छन् । 

मोदी प्रधानमन्त्री अाेली १९५० को सन्धि

विशेष