राजनीति

नेपाल-भारत सम्बन्धले नयाँ उचाइ लिन्छ : प्रधानमन्त्री ओली

नेपाल-भारत सम्बन्धले नयाँ उचाइ लिन्छ : प्रधानमन्त्री ओली

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् । 

 

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रदान गरिएको ‘गार्ड अफ अनर’ गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे ।

 

प्रधानमन्त्री ओलीले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए । जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्याउन आफू भारत भ्रमणमा आएको बताए । 

 

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । उनले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए । 

 

प्रधानमन्त्री ओलीले त्यसका लागि समकक्षी नरेन्द्र मोदीसँग एकजुट भएर अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी गराए । सो अवसरमा प्रधानमन्त्री ओलीलाई मोदीले स्वागत गरेका थिए । नेपाल र भारतका राष्ट्रिय धून पनि बजाइएको थियो ।

 

राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ लिएलगत्तै प्रधानमन्त्री ओलीले भरतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय हित तथा सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ। 

 

राष्ट्रपति कोविन्दसँगको भेटपछि प्रधानमन्त्री ओलीले भारतीय विदेश मन्त्री सुस्मा स्वराजसँग भेट गरिरहेका छन्। प्रधानमन्त्री ओलीसँगको भेटका लागि विदेश मन्त्री स्वराज राष्ट्रपति निवासमा पुगेकी थिइन्। 

प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमण

विशेष