सरकारले श्वेतपत्र होइन, लालपत्र ल्यायोः प्रवक्ता शर्मा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर श्वेतपत्रबारे कांग्रेसले यस्ताे धारणा सार्वजनिक गरेको छ । अर्थतन्त्रलाई नकारात्मक देखाउन आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
श्वेतपत्रका नाममा सरकारले इतिहास आजबाट सुरु हुन्छ भन्ने देखाउन खोजेको कांग्रेसको आरोप छ । यस्तै नेता प्रकाशशरण महतले भने ‘सबै खराबै खराब छ र कांग्रेस नेतृत्वको सरकारले खराब गरेको हो भनेर श्वेतपत्र प्रस्तुत गर्न खोज्नु भएको छ ।’
बितेको २५ वर्षमा ६२ गुणाले राजस्व वृद्धि भएको तथ्यलाई श्वेतपत्रमा कतै उल्लेख नभएकोमा उनले बताए । श्वेतपत्रबारे कांग्रेसले पत्रकार सम्मेलनमा २४ बूँदे विज्ञप्ति पनि सार्वजनिक गरेको छ।
अर्थतन्त्रको सकारात्मक पाटोहरु सबै नजर अन्दाज गरेर कतिपय कमजोरीको अतिरञ्जनापूर्ण प्रस्तुति गरिएको भन्दै श्वेतपत्रले सिर्जना गरेको भ्रम चिर्ने आफूहरुको कर्तव्य रहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।