कृषिमा आधारित उद्योगका लागि इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुकः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि इजरायली राजदूत बोनी ओमेरबीच भेटवार्ता भएकाे छ । मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए ।
उनले भने, ‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।’प्रचण्डले कृषिमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए ।
‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ उनले भने । राजदूत ओमेरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताए ।
उनले भने, ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं ।’ सिकौ र कमाऔं भन्ने नीति इजरायलकाे रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न अाफूहरू तत्पर रहेको धारणा राखे।
प्रचण्ड भेटवार्ता राजदूत बोनी ओमेर