कविताः बजारमा जीवन
विजय सापकोटा
बाँडेको छ बजारले
अनेक आकर्षक स्लोगनहरु,
जीवन
हरेक विहान तिनलाई च्यापेर उठ्छ
दिनभर बोकेर हस्याङ्फस्याङ कुद्छ
रातभर पनि ओढेरै सुत्छ
निन्द्रामा समेत त्यसलाई बोलिरहेकै हुन्छ, पढिरहेकै हुन्छ ।
जीवनचर्याको पूरै स्क्रिप्ट
चिप्काइदिएको छ खप्परमा,
कहाँनिर गएर सुस्ताउने
अथवा कतातिर गएर उदाउने हो,
कतिबेला हाँस्ने
अथवा कुनबेला रुने हो
जम्मै बताइदिएको छ स्क्रिप्टले ।
बजारले नै कोरिदिएको छ
जीवनका सपना
र तोकिदिएको छ
तिनका होलसेल र खुद्रा मूल्य ।
खुशी भएर झुम्नलाई
रिमिक्स गरिदिएको छ लोकगीत,
भावुक भएको बेला हेरेर रुन
आकर्षक एनिमेसन गरिदिएको छ बाबाआमाको फोटो,
साथमा थमाइदिएको छ
क्रेडिट कार्ड
पोलिमर नोट
जंक फुड
ग्याजेट र फोर डी सिनेमा ।
कस्तो मज्जा,
कमान्ड मानिदिए पुग्छ,
हातपाखुरा चलाइदिए हुन्छ
खप्पर चलाउने झन्झट
बजार आफैँले जो बोकिदिएको छ !
र त जीवन धन्य छ !
सुखी छ !!
र पूर्ण छ !!!
‘यी हेर त
स्लोगनहरुकै आदर्श भिरेर
मान्छेजत्तिकै चलाख र बुद्धिमान देखिने
‘जंक’ मान्छेको यो भीडमा
उभिन पाएकोमा म–
कत्ति खुसी छु !’
लन्डन