राष्ट्रियसभाका सांसदले मोदी भ्रमणबारे यस्ताे गरे सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सिमा सुरक्षाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण तथा अन्य समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य उतोल तामाङले दुर्गम क्षेत्रका नागरिकले बोलेको राज्यले नसुन्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराए ।
सांसद उदया शर्मा पौडेलले मोदीको भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल आएको भन्ने विषयमा सरकारसँग जानकारी माग गरे । सांसद बिन्दादेवी रानाले भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला सीमा क्षेत्र मिचिएको विषयमा कुरा उठाउन तथा प्रबुद्ध समूहले अहिलेसम्म गरेको कार्यप्रगति सार्वजनिक गर्न माग गरिन।
सांसद उतोेल तामाङले आदिवासी जनजाति आयोगलाई प्रभावकारी बनाउन तथा दुर्गम क्षेत्रलाई सुगम तुल्याउने ढंगबाट कार्ययोजना अघि बढाउन सरकारको ध्यानाकर्षण गरे ।
सांसद तारादेवी भट्टले कञ्चनपुरको प्यारा ताललाई कब्जा गर्ने नियतले भारतीय सुरक्षा फौजले आँखा लगाएको तथा सीमावर्ती क्षेत्रमा भारतीय पक्षले नेपाली किसानको बालीनाली लुट्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन । राष्ट्रियसभाको अर्को बैठक वैशाख ३० गते बस्नेछ ।