राजनीति

‘एमाले–माओवादी मिलेपछि मोदीको पहिलो शुभकामना आउँछ’

‘एमाले–माओवादी मिलेपछि मोदीको पहिलो शुभकामना आउँछ’

काठमाडौंः नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकता हुनेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो शुभकामना आउने स्पष्ट पारेका छन् । 

 

उनले भने,‘एमाले र माओवादीबीच एकता हुँदा भारतीय प्रधानमन्त्री मोदी र चिनीयाँ राष्ट्रपति सि जिनफिङको शुभकामना आउँछ ।’ एमाले–माओवादी एकताप्रति मोदीको सद्भाव रहेको उनले बताए । 

 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको अब हुने नेपाल भ्रमणलाई आफूहरुले सफल बनाउने बताए । 

 

उनले भने,‘मोदीजीको भ्रमण सफल हुन्छ, हामी सफल बनाउँछौं, पछिल्लो समय नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको छ, हामीबीच रहेका सबै असमझदारी हटेका छन्, भारत पनि नेपालमा विकास र समृद्धि चाहन्छ, हामी पनि भारतसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं, मोदीको यो भ्रमण दुई देशबीचको सम्बन्धमा कोशेढुँगा सावित हुन्छ ।’

 

साक्षात्कारमा बोल्दै उनले मोदीको नेपाल भ्रमणको बेला नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास दिलाए । उनले मोदी नेपाल भ्रमणमा आउँदा यसपटक जनकपुर र मुक्तिनाथको भ्रमण गराउने तयारी थालिसकेको बताए । मोदीको भ्रमण सफल बनाउन सिँगो सरकार तयारीमा जुटिसकेको पनि उनले जानकारी दिए । 


नेता भट्टराईले एमाले–माओवादीले एक–अर्काको अस्तित्व स्विकार गरिसकेकोले आफूहरु सहकार्यमा रहेको बतfए । 

 

‘एकता जनताबाट अनुमोदित भैसकेको छ, अब पछि हट्ने ठाउँ छैन, एकतालाई टुँगोमा पुर्याउनको लागि दुवै पार्टीका अध्यक्षवीच धेरैपटक वार्ता तथा छलफल भएका छन्, छलफल अहिले पनि जारी छ’, उनले भने । दुई पार्टीबीचको एकता धेरै नजिक रहेको उनको जिकिर थियो । 

 

एकता भनेपछि संगठनपनि मिलाउने कुरा भएकोले राजनीतिक जित्दा पनि गणित र मनोविज्ञानको उचित व्यवस्थापन गर्नुपर्ने भएकोले अहिले आफूहरु त्यस कार्यमा व्यस्त रहेको भट्टराईको भनाई छ । उनले भने,‘योग र ध्यानमा बस्दा मनोविज्ञानको व्यवस्थापन हुन्छ, एकले अर्कोलाई मित्रता ठान्दछ, शत्रुता हट्छ, धैर्यता बढ्छ।’

 

उनले पार्टी एकता ५०/५० को अनुपातमा भन्दापनि सिँगो पार्टी भनेको त १०० प्रतिशत हुने बताउँदै भने,‘सिँगो पार्टी नै भएपछि त उहाँ (प्रचण्ड) को हातमा पार्टी हुन्छ।’ एकतामा जाँदा पार्टी बलियो हुनुपर्ने उनको धारणा छ । 

 

‘एकता गर्ने भनेको त बलियो पार्टी बनाउने हो नि’, उनले भने,‘त्यसैले जग बलियो बनाउनुपर्छ, जसरी घर बनाउँदा बलियो जग हालिन्छ, नक्कली माल प्रयोग गर्नुहुँदैन, बरु सक्कली माल प्रयोग गर्नुपर्छ ।’

योगेश भट्टराई एमाले–माओवादी केन्द्र

विशेष