रविन्द्र मिश्रकाे अाेलीलार्इ प्रश्नः नाकाबन्दी शब्दसमेत सुन्न नचाहनुको कारण के हो?
काठमाडौं । विवेकशील साझा पार्टीका संयाेजक रविन्द्र मिश्रले सामान्य र शिष्ट भाषाको ब्यानर टाँग्न नदिएर सरकारले अधिनायकवादी चरित्र देखाएको बताएका छन् ।
माेदी भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नांगिएको मिश्रले टिप्पणी गरे । ‘नाकाबन्दीका बेला त्यत्रो अडान लिएका प्रधानमन्त्रीले अहिले नाकाबन्दी शब्दसमेत सुन्न नचाहनुको कारण के हो ?’ उनले प्रश्न गरे ।
त्यतिबेला जनमत आफ्नो पक्षमा ल्याउनका लागि राष्ट्रवादी अडान लिएको र अहिले सत्ता टिकाउनका लागि लम्पसार परेको उनको अाराेप छ ।
विवेकशील साझा पार्टी कार्यालयकाे किस्सा
विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा केही दिनअघिदेखि ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको कालो पृष्ठभूमिको ब्यानर टाँगिएको थियो ।
शुक्रबार दिउँसो २ बजे प्रहरीको एक टोली आएर सीडीओ कार्यालयको आदेश भन्दै उक्त ब्यानर च्यातचुत पारेर लग्यो । त्यतिबेला कार्यालयमा विवेकशीलको केन्द्रीय कमिटी बैठक चलिरहेको थियो ।
प्रहरीको हस्तक्षेपपछि बैठक स्थगित गरेर नेताहरु जिल्ला जिल्ला प्रशासन कार्यालय ललितपुरमा डेलिगेसन गए । तर, उनीहरुलाई धेरैबेरसम्म भित्र पस्न दिइएन । बल्लबल्ल भित्र पसे पनि प्रमुख जिल्ला अधिकारी कार्यालयमा थिएनन् ।
त्यसैले उनीहरुले सहायक सीडीओसँग कुरा गरे । उनीहरुले प्रहरीले लगेको व्यानर फिर्ता मागे । तर, सहायक सीडीओले ‘माथिको आदेशमा’ आफूहरुले ब्यानर हटाउन लगाएको बताएपछि पार्टीका नेताहरु झनै आक्रोशित बनेका थिए ।