विराेध गर्नुभन्दा मोदी भ्रमणपछिको नयाँ आयामबारे चिन्तन गर्नुहाेस्: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र भारतसँग गरिएका कुनै सन्धीसम्झौता राष्ट्र हितविपरित नभएका बताएका छन् । आइतबार संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
विराेध गर्नुभन्दा मोदीको भ्रमणपछि नेपाल भारतबीचको सम्बन्धमा थपिएको नयाँ आयामबारे चिन्तन गर्नुपर्ने र भ्रमण ऐतिहासिक भएको दाबी प्रधानमन्त्री अाेलीले गरे ।
उनले तीन वर्षअगाडि नेपाल भारतबीच रहेको तनावपूर्ण सम्बन्ध सुधार भएर अहिले सामान्य अवस्थामा आइपुगेको पनि बताए ।
‘तीन वर्षअघि नेपाल भारतबीच तनावको स्थिति थियो । त्यतिबेला म प्रधानमन्त्री हुँदा नाकाबन्दी लागिरहेको थियो । नाकाबन्दीको अवस्थाबाट हामी अहिलेको अवस्थामा आइपुगेका छौं’, ओलीले भने । उनले नेपाल जुनसुकै देशसँग सन्तुलित सम्बन्ध कायम गर्न स्वतन्त्र रहेको पनि बताए ।
आफू नाकाबन्दी खोलेर भारत गएसँगै सम्बन्ध सुधारको नयाँ आयाम सुरु भएको भन्दै ओलीले सम्बन्ध बराबरीको हैसियतामा हुने पनि स्पष्ट पारे । देशको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकीसँग सम्बन्ध र व्यवहार हुने उनको भनाई थियो ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिमा पनि नेपाल आफ्नो आवश्यकता र प्राथमिकतामा अघि बढ्दा कुनै चित्त नदुख्ने र सहयोग हुनेमा खुलस्त प्रकट भएको धारणा राखे ।
केपी शर्मा ओली नरेन्द्र मोदी नेपाल भ्रमण