राजनीति

मोदीको भ्रमणपछि एमाले–माओवादी एकतामा आशंका

मोदीको भ्रमणपछि एमाले–माओवादी एकतामा आशंका

काठमाडौं । कार्यदल स्तरबाट प्राप्त सुझावका आधारमा पार्टी एकता गर्न दुवै दलका अध्यक्षलाई जिम्मेवारी दिइए पनि नेकपा एमाले र माओवादी केन्द्रबीच पछिल्लो समय छलफल नै हुन छोडेको छ । एमालेले एकलौटी रुपमा सरकार चलाउन खोजेको भन्दै माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाउन थाले ।


सोमबार बसेको प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रवक्ता समेत रहेकी भएका पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा भारतीय सुरक्षाकर्मी झन्डै तीन सयको सङ्ख्यामा परिचालन गरिनु उचित नभएको भन्दै सरकारको आलोचना गरिन् ।


मोदीको भ्रमणका क्रममा भएका केही सहमतिमा पनि सत्ता साझेदार दल माओवादी असन्तुष्ट रहेको छ । जस्तो कि, उर्जामन्त्री, वन मन्त्री लगायतले त मोदीको अभिनन्दनमा अनुपस्थित नै रहे । माओवादी केन्द्रका नेता चक्रपाणि खनालले आफूहरु सरकारमा रहे पनि केही असमझदारी देखिएको भन्दै त्यसलाई हटाउनका लागि शीर्ष तहमा नै छलफल गर्नुपर्ने बताएका छन् ।


एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति यसअघि नै भए पनि संसदमा एमाले र माओवादीका सांसदहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । यसले पार्टी एकताको दूरी थप टाढिएको छ ।


एमाले सांसद कृष्ण गोपाल श्रेष्ठले त मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठमाथि आक्रमण नै गरेको कुराले माओवादी नेताहरु चिढिन थालेका छन् । एकता प्रक्रिया अन्तिम टुंगोमा पुगेको भनिए पनि मोदीको नेपाल भ्रमणपछि एकताबारे अनेक आशंका उठ्न थालेका हुन् । माओवादीका एक पोलिटब्यूरो नेताले भनेअनुसार मोदी भ्रमणपछि वातावरण थप बिग्रिएको छ । एकतामा गम्भीर असर पर्ने वा अर्कै तरिकाबाट एकता हुनसक्ने चिन्ता ती नेताको थियो ।
 

केपी अाेली प्रचण्ड पार्टी एकता

विशेष