मुख्य समाचार राजनीति

भोलि बालुवाटारमा हेर्न आए हुन्छ, हामी एकताको तयारी गर्दैछौंः ओली

भोलि बालुवाटारमा हेर्न आए हुन्छ, हामी एकताको तयारी गर्दैछौंः ओली

काठमाडाैं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले चुनावमा गरिएको प्रतिबद्धता अनुसार छिट्टै माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन् ।

 

युवा संघ नेपालको २८औं स्थापना दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधनत गर्दै उनले भने,’दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई/तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।’

 

ओलीले दुई कम्युनिस्ट पार्टीको एकता भाँड्न खोज्नेहलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन युवा संघलाई निर्देशन दिए ।

 

एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने भन्दै ओलीले चुनावी घोषणापत्र अनुसारको बजेट निर्माणमा सरकार रहेको बताए ।

 

उनले तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने दाबी गरे । सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको भन्दै उनले भ्रष्टाचार, कालोबजारी र तस्करी विरुद्ध अभियान छेड्न युवालाई आह्वान गरे ।

 

ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका दौरान देशको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको दाबी गर्दै विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी गरे ।

 

ओलीले मोदीको भ्रमणका क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति गलत रहेको र उक्त अभिव्यक्ति नेपाल सरकारको धारणा नभएको प्रष्ट पारे ।

 

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको चरण समाप्त भएकाले पुनः निर्माणको अभियानमा लाग्न युवाहरुलाई आग्रह गरे ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै पार्टी एकता गरेर समृद्धि र स्थायित्वको अभियान दिशामा मुलुकलाई लगिने बताए ।

केपी ओली पार्टी एकता नेकपा एमाले नेकपा माओवादी केन्द्र

विशेष