भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा
भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए ।
जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टि भारतको र उत्तरपट्टी नेपालको झन्डा राखिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर पुग्नु आधा घन्टाअघि दूतावासको कमान्डमा रहेका भारतीय सुरक्षाकर्मीले ती झन्डा राखेका थिए ।
नेपालको झन्डा उनीहरूले कहाँबाट ल्याए भन्ने नेपाली पक्षलाई जानकारी छैन । कार्यक्रम व्यवस्थापनको जिम्मेवारी संघीय सरकार, प्रदेश सरकार र जानकी मन्दिरले संयुक्त रूपमा लिएका थिए । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मन्दिर परिसरमा भारतीय दूतावासले राखेको कार्यक्रमबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘भारतीय दूतावासले त्यहाँ कार्यक्रम राखेको सुनेको थिएँ, तर कार्यक्रमका लागि ल्याउने सामान कहाँबाट ल्याइयो र झन्डा कसरी राखियो मलाई थाहा छैन ।’
प्रदेश सरकारका प्रमुख सचिव हरि फुँयालले सो कार्यक्रममा प्रदेश सरकारका कर्मचारीको उपस्थित नभएको बताए । उनले भने, ‘प्रदेशका कर्मचारी सो कार्यक्रममा सहभागी थिएनन् । झन्डा कसले कसरी राख्यो जानकारी भएन ।’
कार्यक्रममा उद्घोषण भन्ने प्ररराष्ट्र मन्त्रालयका सहायक प्रोटोकल अधिकृत रामबाबु ढकालले गरेका थिए । उनी मञ्चमा पटक–पटक ओहोरदोहोर गरेका थिए । कार्यक्रमस्थलमा भारतीय दूतावासका कर्मचारीको भने घुइँचो थियो ।
उता संघीय सरकारका सामान्य प्रशासन मन्त्रालयले झन्डा बिगारेको विषयमा प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिका प्रशासकीय अधिकृतलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको छ ।
यसरी भयो लापरबाही
जानकी मन्दिरमा रामायण सर्किटको शिलान्यास हुने भनिए पनि प्रदेश सरकार र जानकी मन्दिर व्यवस्थापनलाई कार्यक्रमबारे जानकारी दिइएको थिएन । पछि सो कार्यक्रमको व्यवस्थापन भारतीय दूतावासले गरेको थियो । मञ्च पनि उसैले बनायो ।
सञ्चारकर्मीको टोली जानकी मन्दिर पुग्दा दूतावासका कर्मचारी हतारहतार मञ्च बनाइरहेका थिए । नेपाली अधिकारी त्यहाँ उपस्थित भए पनि जिम्मेवारी लिएनन्, न त दूतावासका कर्मचारीलाई आवश्यक निर्देशन नै दिन सके ।
प्रमुख सचिवलाई पनि थिएन पास
प्रदेशका प्रमुख सचिव हरि फुँयाललाई पनि जानकी मन्दिर प्रवेशको पास थिएन । नीलो र रातो दुई प्रकारको पासको व्यवस्था थियो । नीलो सञ्चारकर्मीलाई र रातो व्यवस्थापनमा खटिएकाका लागि थियो ।
सचिव फुँयाल भने, ‘प्रदेश सरकारका कुनै पनि कर्मचारीलाई पास थिएन, पास नै नदिएपछि त्यहाँ जाने कुरै भएन, फेरि त्यतिवेला म बाह्रबिघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भएँ ।’
प्रदेश सरकारले टेरेन परराष्ट्रको सुझाब
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा परराष्ट्र मन्त्रालयले दिएको सुझाब अटेर गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागीलगायतले जनकपुर पुगेरै प्रदेश सरकारका अधिकारीलाई कूटनीतिक आचारसंहिता, कूटनीति सञ्चालनसम्बन्धी संवैधानिक व्यवस्थाबारे स्मरण गराएका थिए । उनीहरूले मुख्यमन्त्रीको सम्बोधन र कार्यक्रम सञ्चालनसम्बन्धी विषय परराष्ट्रले तय गरेअनुसार हुनुपर्ने भने पनि अटेर गर्दा ‘कूटनीतिक दुर्घटना’ भएको परराष्ट्रका उच्च अधिकारीको भनाइ छ ।
परराष्ट्र मन्त्रालयले उपसचिव रामबाबु ढकाललाई प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकासँग समन्वयको जिम्मा दिएको थियो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउतसहितका पदाधिकारीलाई मन्त्री ज्ञवाली र सचिव बैरागीले पटक–पटक एउटै ढाँचाको कार्यक्रम हुनुपर्ने बताएका थिए । कार्यक्रमबारे परराष्ट्रले प्रधानमन्त्री कार्यालयलाई जानकारी दिँदै आएको थियो ।
‘परराष्ट्रको सुझाब अटेर गर्नु गलत थियो, अनुभव वा जानकारीको कमी होइन, प्रदेश सरकारले अटेर गरेको हो,’ प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई यसबारे सम्झाउनुभएको छ ।’ प्रधानमन्त्री ओलीले मंगलबार मधेसका सांसदसँग कुराकानीका क्रममा पनि मुख्यमन्त्रीले गल्ती गरेको टिप्पणी गरेका थिए ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले अभिनन्दन कार्यक्रम सञ्चालन प्रदेशका मन्त्रीबाट हुनु नहुने सुझाब पनि दिएको थियो । तर, प्रदेशका भौतिक योजनामन्त्री जितेन्द्र सोनलले कार्यक्रम उद्घोषण गरेका थिए । ‘हामीले पटकपटक सचेत गराएका हौँ, सरकारी पदधारण गरेका व्यक्तिले संविधान र प्रचलित नियमअनुसार गर्नुपर्छ भनेका हौँ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘कार्यक्रम सभ्य र भव्य होस् । परराष्ट्र नीतिको ख्याल होस् भनेर प्रधानमन्त्रीको तहबाट पनि पटक–पटक सन्देश पु-याइएको हो ।’
जनकपुर उपमहानगरले भने परराष्ट्रले तयार गरेकै पत्र दियो
जनकपुर उपमहानगरपालिकाले भने नागरिक अभिनन्दनका लागि परराष्ट्र मन्त्रालयले नै तयार गरेको पत्र दिएको थियो ।
‘हामीले परराष्ट्रमै मैथिली अनुवादक पठाएर मन्त्रालयले अंग्रेजीमा तयार गरेको अभिनन्दन पत्रलाई उल्था गरेर मोदीजीलाई अभिनन्दन ग-यौँ,’ जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले टेलिफोनबाट नयाँ पत्रिकासँग भने, ‘हामीले गर्ने कार्यक्रममा राष्ट्रको भावना प्रतिविम्बित हुनुपर्छ भन्नेमा म सचेत थिएँ, हामीले समन्वयमा सबै काम ग-यौँ ।’
परराष्ट्र मन्त्रालयबाट अभिनन्दनपत्र २६ चैतमा जनकपुर लगिएको थियो । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।
नरेन्द्र मोदी माेदी भ्रमण जानकी मन्दिर स्वरूप बिग्रिएको झन्डा