मुख्य समाचार देश

आफ्नै जहाज दुर्घटनामा परे आदित्य, पाँच महिनामा तेस्रो विमान दुर्घटना, ५३ जनाको ज्यान गयो

आफ्नै जहाज दुर्घटनामा परे आदित्य, पाँच महिनामा तेस्रो विमान दुर्घटना, ५३ जनाको ज्यान गयो

हुम्लाको खार्पुनाथमा बुधबार भएको मकालु एयरको कार्गो जहाज दुर्घटनामा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपालको मृत्यु भएको छ । बिहान सुर्खेतबाट हुम्लाको सिमिकोट विमानस्थलका लागि उडेको जहाजमा दुईजना मात्रै थिए ।

 

बुधबारको दुर्घटनासहित पछिल्लो पाँच महिनामा नेपालमा तीनवटा विमान दुर्घटनामा परिसकेका छन् । जसमा ५३ जनाले ज्यान गुमाएका छन् ।

 

यसअघि २८ फागुन ०७४ मा त्रिभुवन विमानस्थलभित्रै बंगलादेशबाट आएको युएस बंगला एयरको जहाज दुर्घटनामा चालक दलका चार सदस्यसहित ५१ जनाको ज्यान गएको थियो ।

 

६ वैशाखमा फेरि अर्को जहाज दुर्घटना त्रिभुवन विमानस्थलभित्रै भयो । काठमाडौंबाट मलेसिया उड्न तयार जहाज ओभररन हुँदा धावनमार्ग छोडेर चिप्लिन पुग्यो । भाग्यवश यो दुर्घटनामा मानवीय क्षति भने भएन ।

 

सन् २०१८ को सुरुवाती महिनामै लगातार जहाज दुर्घटना भएपछि नेपालको हवाई उडानको सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो बढेको छ । सन् २०१७ मा एउटा मात्र जहाज दुर्घटनामा परेको थियो भने दुईजनाले ज्यान गुमाएका थिए । २७ मे २०१७ मा गोमा एयरको जहाज लुक्का विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा पर्दा दुई पाइलटको मृत्यु भएको थियो । उक्त कार्गो जहाज दुर्घटनामा एयर होस्टेस भने जोगिएकी थिइन् ।

 


 

आफ्नै जहाज दुर्घटनामा परे आदित्य
मकालु एयरको आधिकारिक वेबसाइटका अनुसार दुर्घटनामा ज्यान गुमाएका कोपाइलट आदित्यनाथ नेपाल मकालु एयरका प्रबन्ध–निर्देशक पनि थिए । उनी मकालु एयरका कार्यकारी अध्यक्ष क्याप्टेन फिजियोनाथ नेपालीका एक्ला छोरा थिए ।

३० वर्षीय आदित्यले अमेरिकाबाट पाइलट कोर्स गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आदित्यले सन् २०१३ सेप्टेम्बरमा पाइलट लाइसेन्स लिएका थिए । उनीस“ग १ हजार ७९५ घन्टा जहाज उडाएको अनुभव थियो ।


भट्टराई अनुभवी पाइलट
वरिष्ठ क्याप्टेन किरण भट्टराई भने अनुभवी पाइलट थिए । ५४ वर्षीय भट्टराईले पनि अमेरिकाबाटै पाइलट कोर्स गरेका थिए । दुई दशक नेपाली आकाशमा जहाज उडाएका उनी मकालुमा आबद्ध भएको एक वर्ष मात्रै भएको थियो ।

उनीसँग नेपाल एयरलाइन्सदेखि बुद्ध तथा सीता एयरलाइन्सको जहाज उडाएको अनुभव थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भट्टाईले बुधबार दुर्घटनामा पर्नुअघिसम्म ६ हजार ५९८ घन्टा जहाज उडाएका थिए ।


जाँचबुझ आयोग गठन
यसैबीच सरकारले मकालुको जहाज दुर्घटनाको कारण पत्ता लगाउन चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । नागरिक उड्डयर प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा गठित आयोगमा बुद्ध एयरका वरिष्ठ इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ र नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन गोपाल बिष्ट सदस्य छन् । पर्यटन तथा नारिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव छन् । मन्त्रिस्तरीय निर्णयमा गठन भएको आयोगलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । भविश्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सतर्कतालगायत सुरक्षा सिफारिस गर्न पनि भनिएको छ ।


दुई वर्षमा तीन सिंगल इन्जिन जहाज दुर्घटना
८ अप्रिल २०१६ मा कालिकोटको चिलखायामा काष्ठमण्डप एयरको जहाज दुर्घटना भएयताको दुई वर्षमा तीनवटा सिंगल इन्जिन जहाज दुर्घटनामा परेका छन् । काष्ठमण्डपको जहाज दुर्घटनामा दुई पाइलटको ज्यान गए पनि ९ यात्रुको सकुसल उद्धार गरिएको थियो । त्यसपछि सरकारले सिंगल इन्जिन जहाजबाट यात्रु ओसार्न प्रतिबन्ध नै लगायो ।

२४ सेप्टेम्बर २०१६ मा मकालु एयरकै सिंगल इन्जिन जहाज हुम्लाको हेल्दुङ खोलामा दुर्घटनाग्रस्त भयो । कार्गो उडानका क्रममा रहेको यस दुर्घटनामा भने दुई पाइलट बचेका थिए । बुधबार फेरि तेस्रो सिंगल इन्जिन जहाज दुर्घटनामा प-यो । मकालुसँग अझै दुई सिंगल इन्जिन जहाज छन् । यी जहाजले सामान मात्र ओसार्न पाउँछन् ।


गोठालाले देखे दुर्घटना

जहाज दुर्घटना सुरुमा भेडा गोठालाले देखेका थिए । बाजुराबाट भेडा लिएर हुम्ला आउँदै गरेका लामा रावलले दुर्घटना देखेका थिए । ‘आकाशमा दुई–तीन फन्को लगायो, त्यसपछि भुज भन्ने ठाउँमा बस्न खोज्दा दुर्घटना भयो,’ उनले सुनाए, ‘दुर्घटना भएपछि म मान्छे होलान् भन्दै उद्धार गर्न घटनास्थलतर्फ लागेँ ।

जानकारी गराउन धेरैलाई फोन गर्दा पनि लागेन । अन्ततः अंकल देवराज रावललाई फोन लाग्यो । अनि जानकारी गराएँ ।’ जहाज हराएको सूचना पाउनेबित्तिकै नेपाल प्रहरी र नेपाली सेनाका टोली खोजीमा खटिएका थिए ।


मकालुको विमान उडेको १५ मिनेटमै सम्पर्कविहीन 
सुर्खेत विमानस्थलबाट सिमिकोटका लागि बुधबार बिहान ६ः१२ बजे उडेको मकालु एयरको ९एनएजेयू जहाज उडेको १५ मिनेटमै टावरस“ग सम्बन्धविच्छेद भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उद्धार समन्वय केन्द्रका अनुसार उक्त जहाजको अन्तिम सम्पर्क ६ः२७ मिनेटमा नेपालगन्ज टावरसँग भएको थियो ।

६ः५५ मा सिमिकोटमा अवतरण गर्नुपर्ने थियो । तर, जहाज हराएको झन्डै ३ घन्टापछि हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित बाहुनखर्कमा दुर्घटना भएको अवस्थामा भेटियो । जहाजको खोजीमा सिमिकोटमा रहेका माउन्टेन एयरका दुई र काठमाडौंबाट गएको नेपाली सेनाको एक हेलिकोप्टर खटिएका थिए ।

मकालु एयर विमान दुर्घटना हुम्ला आदित्यनाथ

विशेष