जनक्रान्तिको प्रस्थानविन्दु मजदुर आन्दोलनः देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक वर्गले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान गरेको बताएका छन् । विश्व श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु मजदुर आन्दोलन नै भएको बताए ।
२००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको र सरकारले निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको स्मरण गरे ।
२०१६ सालमा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर मजदूरहरूलाई कानूनसम्मत अधिकार प्रदान गरेको स्मरण गराएका छन् ।
कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको सभापति देउवाको सन्देशमा उल्लेख छ ।
उनले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएको हुँदा लोकतन्त्रको रक्षा र सम्वद्र्धन गर्नु सबैको कर्तव्य र दायित्व भएकाले यस दिशातर्फ सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनी सजग र जिम्मेवार हुने विश्वास पनि व्यक्त गरेका छन् ।
शेरबहादुर देउवा