मुख्य समाचार राजनीति

इतिहासकै शक्तिशाली पार्टी गठन, तीन अर्बको सम्पत्ति

इतिहासकै शक्तिशाली पार्टी गठन, तीन अर्बको सम्पत्ति

साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पु-याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । ६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको छ ।

 

 

एकतासँगै शीर्ष नेताहरूले देशमा स्थिरता र समृद्धिका लागि नयाँ अध्याय सुरु भएको बताएका छन् । राष्ट्रिय सभागृहमा भएको एकता घोषणासभामा नेकपाका सहअध्यक्षद्वय केपी ओली र प्रचण्डले शान्ति, स्थिरता र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन अब नयाँ इतिहास रच्दै अघि बढेको घोषणा गरे ।

 

तत्कालीन महासचिव पुष्पलालको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टी पुनस्र्थापित गरेर उनको सपना पूरा गरेको दुवै नेताको भनाइ थियो । गत १७ असोजमा पार्टी एकता र चुनावी तालमेलका लागि भएको ६ बुँदे सहमतिलाई ७ फागुनमा सातबुँदे सहमतिमार्फत थप मूर्त रूप दिँदै उनीहरूले एकतालाई निष्कर्षमा पु-याएका हुन् ।


दल दर्ताका लागि आयोगमा निवेदन
नयाँ पार्टी दर्ताका लागि बिहीबार नै निर्वाचन आयोगमा निवेदन दिइएको छ । ४४१ केन्द्रीय सदस्यमध्ये बैठकमा उपलब्ध सदस्यहरूको हस्ताक्षरसहितका कागजात बोकेर सहअध्यक्षद्वय ओली र प्रचण्ड आफै आयोग पुगेका थिए ।

‘नेपाल कम्युनिस्ट पार्टी’ पहिले नै आयोगमा दर्ता रहेकाले उनीहरूले पार्टीको नाम अन्डरलाइन (नेपाल कम्युनिस्ट पार्टी) गरेका छन् । आयोगले बुझाइएका कागजात संविधान, ऐन र नियमावलीअनुसार भए–नभएको हेरेर ४५ दिनभित्र पार्टी दर्ता गर्न सक्ने जनाएको छ ।


घोलिएका छौँ, भेदभाव हुँदैन : केपी ओली, सहअध्यक्ष, नेकपा
हामी एक–अर्कामा मिसिएका होइनाैँ, घोलिएका छौँ । हिजो कुन पक्षबाट आएको थियो भनेर कसैप्रति पूर्वाग्रही, भेदभावपूर्ण व्यवहार गरिनेछैन । समभावका साथ व्यक्तिको योग्यता, क्षमता र भोलिका सम्भावना हेरेर जिम्मेवारी दिन्छौँ । अब नेपालमा कम्युनिस्टका लागि दुईतिहाइ सामान्य जोडघटाउको कुरो हो ।


अस्थिरता र अराजकताको युग सकियो : प्रचण्ड, सहध्यक्ष, नेकपा

अब देश अस्थिरता र अराजकताको युगबाट स्थिरता, समृद्धि र सुशासनको युगमा प्रवेश गर्छ । इतिहासमा धेरै कम्युनिस्ट पार्टीले आन्दोलनका समयमा ठुल्ठूला त्याग र बलिदान गरेका छन्, तर सत्तामा पुगेपछि भ्रष्ट र स्खलित भएका उदाहरण छन् । अब बन्ने कम्युनिस्ट पार्टी एक्काइसौँ शताब्दीका चुनौती र सम्भावना बुझ्ने हुनेछ ।


पार्टी एकता टाइमलाइन

बिहान ८ बजे : बल्खुस्थित एमाले कार्यालयमा मदन–आश्रित स्मृति दिवस

बिहान ११ बजे : एकताको सन्देशमा दुई अध्यक्षद्वारा बालुवाटारमा वृक्षरोपण

बिहान ११ः३० बजे : बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक

दिउँसो १ः३० बजे : बालुवाटारमा एमाले, खुमलटारमा माओवादी बैठक

दिउँसो ३ बजे : बालुवाटारमा संयुक्त बैठक र पहिलो बैठक सँगसँगै

अपराह्न ४ः३० बजे : नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि
निर्वाचन आयोगमा निवेदन

साँझ ५ः४५ बजे : राष्ट्रिय सभागृहमा एकीकरण घोषणासभा

साँझ ७ बजे : बालुवाटारमा दीपावली र रात्रिभोज


तीन अर्बको सम्पत्ति
-एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।


-माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।


-दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टीको स्वामित्वमा आउने नेताहरूले बताएका छन् ।

बालुवाटारमा रात्रिभोज
खर्च दुई पार्टीले व्यहोर्नेे

पार्टी एकीकरण भएको खुसियालीमा बिहीबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको छ । दुई पार्टीका नेता–कार्यकर्तासहित करिब दुई सयजना भोजमा सहभागी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोजको खर्च सरकारी रकमबाट तिरिनेछैन । दुई पार्टीले स्वामित्व लिनेछन् । ‘खर्चको विवरण अहिले भन्न सकिन्न, तर यो खर्च सरकारी ढुकुटीबाट तिरिन्न । दुवै पार्टीले स्वामित्व लिन्छन्,’ उनले भने । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ । 

पार्टी एकता नेकपा एमाले माअाेवादी केन्द्र नेपाल कम्युनिस्ट पार्टी कम्युनिस्ट आन्दोल

विशेष