देश भिडियो कभर स्टोरी

यसरी बन्दैछ लिफ्ट चढेर जाने २२ तले धरहरा (भिडियो)

यसरी बन्दैछ लिफ्ट चढेर जाने २२ तले धरहरा (भिडियो)

काठमाडौं । १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झना स्वरूप धरहरा निर्माण गर्न लगाएका थिए । त्यसैले पनि धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । सामाजिक तथा प्रशासनिक सुचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाइन्थ्यो ।


बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोत वा टुँडिखेलमा जम्मा हुनुपर्ने नियम थियो । त्यही पुरानो धरहरा १९९० साल माघ २ गतेको महाभुकम्पले भत्काइदियो । ०९० सालमा भत्किएको ११ तले धरहरा दुई वर्षपछि पुनर्निर्माण भयो । तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले नौ तले धरहरा पुनर्निर्माण गराए ।


नेपालको इतिहास बोकेको उक्त धरहरा २०७२ बैशाख १२ गते गएको भुकम्पले भत्कायो । तर आधुनिक प्रविधि, स्रोत साधन हुँदा समेत दुई वर्ष वितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । यतिसम्म कि, पुनर्निर्माणको लागि औपचारिक काम नै सुरु भएको छैन ।



सरकार छिटो छिटो परिवर्तन भइरहने समस्याले गर्दा धरहरा लगायतका ऐतिहासिक पुरातात्विक भवन पुनर्निर्माण हुन नसकेको सम्बन्धित अधिकारीहरुको बुझाइ छ ।

पुनर्निर्माण प्राधिकारणका सह–सचिव तथा प्राधिकरण सम्पदाका महाशाखा प्रमुख राजुमान मानन्धरसँग नेपालआजका लागि प्रताप ओलीले यही विषयमा अन्तरवार्ता गरेका छन् । मानन्धरले यहाँ व्यक्त गरेका कुरा जस्तो त्यस्तै :


पुनर्निर्माण कहिलेबाट ?

धरहरा पुनर्निर्माणकै लागि प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा ‘मेरो धरहरा, म आफैँ बनाउँछु’ कोष स्थापना गर्नुभएको थियो । तर पनि काम द्रुत रुपमा अघि बढ्न सकेको छैन । धरहरा मात्रै नभएर अन्य पुरातात्विक सम्पदाहरुको पनि पुनर्निर्माणमा ढिलाई भएको छ । सरकार फेरिरहने समस्याले गर्दा पनि यस्तो समस्या आएको देखिन्छ ।


तर असार महिनामा पुनर्निर्माणका लागि शिलान्यास हुने गरी धरहरा पुनर्निर्माणका लागि टेण्डर आह्वान गरिएको छ । दुई वर्षभित्र पुनर्निर्माण हुने धरहरा प्राधिकरणले तयार गरेको डिजाइन अनुसार नै निर्माण हुनेछ । नेपाल टेलिकमले हात झिकेपछि प्राधिकरणले धरहरा पुनर्निर्माण आफैं बनाउने घोषणा गरेसँगै प्रकृया सुरू गरेको हो ।


२०७३ असार २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको थियो । तर टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्व विभागले प्रस्ताव अस्वीकार गर्यो ।


करिब १० मिटर परको दूरीमा बन्ने

अहिलेको ठुटे धरहराभन्दा करिब १० मिटर परको दूरीमा बन्ने धरहराको डिपीआरअनुसार कूल लागत करिब ४ अर्ब २७ करोड रुपैयाँ हुनेछ । भूकम्पले भत्काएको धरहरालाई भने सिसाले छोपेर राखिनेछ ।
 

प्राधिकरणका अनुसार धरहरा र परिसरको कूल क्षेत्रफल २४ रोपनी हुनेछ । धरहरा निर्माणका लागि सुन्धारास्थित हुलाक कार्यालय भत्काइनेछ  । उक्त स्थानमा दुई तलाको बेसमेन्ट पार्किङ निर्माण हुनेछ  । धरहराको पुनर्निर्माण आगामी २ वर्षभित्र सम्पन्न भइसक्नेछ  ।


कस्तो बन्नेछ धरहरा ?

अब बन्ने २२ तले धरहरा आधुनिक शैली तर पुरानै स्वरूपमा निर्माण हुनेछ । नयाँ धरहरा ६९.२ मिटर अग्लो अर्थात् २२ तलाको सेतो रङ हुनेछ । टुप्पोमा पुरानै गजुर राखिने छ । धरहरा निर्माणमा कङ्क्रिटको प्रयोग गरिनेछ ।
  

पहिलेको जस्तै धरहरा हेर्न पाइन्छ होला भनेर पर्यटकमा हुटहुटी छ । यही हुटहुटी पुरा गर्न प्राधिकरणले निकै आधुनिक तरिकाले पुनर्निर्माणको कार्य सुरुवात गर्न थालेको छ । अब बन्ने धरहरा ओहोरदोहोर गर्न दुईवटा लिफ्ट र आपतकालिन अवस्थाका लागि एक भर्याङको पनि व्यवस्था गरिनेछ ।


बिजुली नभएको बेला, लिफ्ट प्रयोग नजान्नेलाई भर्याङको सुविधा रहनेछ । धेरै छिटो कुद्ने प्रयोग गर्न सजिलो यो लिफ्टमा एकैचोटी १५ जना जति ओहोरदोहोर गर्न सक्ने व्यवस्था छ । एक लिफ्टलाई प्रत्येक तला तला रोक्नका लागि प्रयोग गरिनेछ । अर्को सिधै तल माथि जानेका प्रयोग हुनेछ ।
 

२२ औं तलामा बाहिरी उपत्यका हेर्नका लागि सुविधायुक्त बालकोनीको व्यवस्थामा गरिएको छ । बालकोनी ६० जनालाई बस्ने सुविधा हुनेछ ।
 

प्रत्येक तलमा अटोमेटिक टिभीको व्यवस्था हुनेछ । धरहराको २ तला अण्डरग्राउण्डमा हुनेछन् । धरहरा वरिपरी पुराना साँस्कृतिक जस्तै क्वाईन (सिक्का) छाप्ने मेसिन कुराहरु देख्न पाउने म्युजियमको व्यवस्था गरिने छ । टिकट काटेर सिधैं बाहिरबाटै एलिभेटरमा जाने वा अण्डरग्राउण्डमा जाने व्यक्तिको विचारले निर्धारण गर्नेछ ।  


धरहराको वरिपरि ७०० मोटरसाईल र ४०० गाडी पार्किङ्को व्यवस्था छ । नेपालीपन देखिने गरि ठुलो पार्क निर्माण हुनेछ । सुनधारालाई मर्मत गरेर नयाँ स्वरुपमा देखाईनेछ । धरहराको क्षेत्रभित्र हरियाली हुनेगरी रुखविरुवा र फुलहरु रोपिनेछ । 


निर्माण लागत अनुमान 

धरहराको पूननिर्माणका लागि ४ अर्ब २७ करोड रुपैंया लागत अनुमान रहेको छ । जसमध्ये पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा ‘मेरो धरहरा, म आफै बनाउँछु’ भन्ने नाराका साथ १ रुपैयाँ उठाउने अभियान अन्तर्गत २४ करोड रुपैंयाँ, नेपाल टेलिकमबाट १ अर्ब र बाँकी नेपाल सरकारको लगानी रहनेछ । 


अन्त्यमा

धरहरालाई २ वर्षभित्र निर्माण गरिससक्ने पुनर्निर्माण प्राधिकरणको लक्ष्य छ । धरहरा बनेपछि कहिले सञ्चालनमा आउने यसबारे कार्यविधि बन्न बाँकी नै छ । यसको सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिइने छ । 

 

धरहराको क्षेत्राअधिकार वरिपरि निकै बलियो र आकर्षक पर्खालको निर्माण हुनेछ । धरहरामा दुई किसिमको टिकटको सुविधा रहनेछ । धरहरा चढ्न र पार्कमा रमाउन फरक–फरक टिकट काट्नुपर्नेछ । धरहराको प्रत्येक तलाको कोठामा ऐतिहासिक, पुरातात्विक, रमणीय तथा पर्यटकीय स्थानको तस्वीर राखिनेछ । पहिलेजस्तै प्रत्येक तलामा स–सानो गोलो झ्यालको व्यवस्था गरिएको छ  ।

धरहरा पुनर्निर्माण राजुमान मानन्धर भुकम्प

विशेष