कला साहित्य साहित्य आज

नविन प्यासीका ३ कविता

नविन प्यासीका ३ कविता

सम्बन्ध 
तिमी टाढै रहनू 
हुटहुटी भइरहोस तिमीलाई भेट्ने 
तर कसैगरी पनि भेट नहोस्  

 

सपना होस्, साकार नहोस् र रहर होस्, अधुरै होस् 
तिमी क्षितिज बन्नू 
म जति नजिक आयो तिमी उति टाढा हुँदै जानू  
 

जुुन बन्नू
म कुवा अघि उभिदिनेछु र तिमीलाई उघाइदिनेछु
बटुकीभरीको पानीमा राखिदिनेछु र टनटनी पिइदिनेछु   

 

आउछु नभनी आउनू, जान्छु नभनी जानू 
तर आउदा मेरो झ्यालको पर्दा हल्लाएर आउनू र जाँदा पनि 
तिमी बतास बन्नु के बतास १ 
म लामो लामो सास फेर्दै तिमीलाई छातीभित्र सजाउँला

 

मैले सास फेर्न छोड्छु भन्ने थाहा हुनुभन्दा ठिक अघि 
तिमीलाई च्याप्प समात्नेछु र कागजमा लेखिदिनेछु  
तिमी कविता बन्नेछौ र मेरो चिहानमा लेखिनेछौ ।

    ♦♦♦

 


मेरा लागि बनिदिने नै भए
म वर्षौंदेखि उध्रिएको छु, फाटेको छु
तिमी केही पनि नबनिदिनू मेरा लागि

 

तिमी फूल नबनिदिनू
मेरो हात पुग्नु अगावै
जुनसुकै बेला पनि चुंडिन सक्छौ
तिमी जून नबनिदिनू
संसारको जुनसुकै कुनाबाट पनि देखिन सक्छौ
तिमी हिमाल नबनिदिनू
म  सपनाको निद्राबाट बिउंझनु अगावै
जुनसुकै बेला पनि सूर्य आइपुग्न सक्छ
र पग्लिन सक्छौ

 

म वर्षौंदेखि उध्रिएको छु, फाटेको छु
तिमी केही पनि नबनिदिनुु
बरू बनिदिने नै भए
सियो बनिदिनू र मलाई घोचीघोची सिलाइदिनू
म वर्षौंदेखि उध्रिएको छु, फाटेको छु
    ♦♦♦

 


पैताला–१
म मन्दिर तिमीसंगै छिर्छु
म शिखर तिमीसंगै चढ्छु 

 

तिमीले छोइदिएपछि मात्र 
हर कुरा अर्थपूर्ण बनिदिन्छन् मेरा

 

मैले तिमीलाई 
मुटुमा, दिमागमा कतै नराखेर
पैतालामुनि राखेको छु 

 

यो कारणले कि 
मेरो हरेक यात्रा तिमीबाट सुरु हुन्छ 
र अन्त्य पनि 
    ♦♦♦
 

पैताला–२
 तिम्रो सबथोक बनाएँ–
कपाल, आँखा, ओंठ, बदन, मुटु...
घमण्ड, रिस, आवेग
सबै–सबै बनाएँ 

 

बनाउंदा–बनाउंदै...
तिम्रो पैताला बनाउन बिर्सिएंछु, 

 

जहाँ बसेर 
तिम्रो हरेक यात्रामा साथै रहने सपना थियो
जो अधुरै रह्यो ।
   ♦♦♦

नविन प्यासी

विशेष