राजनीति

संघीयता कति घातक हुन्छ भन्ने प्रदेश २ का मुख्यमन्त्रीको लम्पसारबाट देखिन्छ 

संघीयता कति घातक हुन्छ भन्ने प्रदेश २ का मुख्यमन्त्रीको लम्पसारबाट देखिन्छ 

चित्रबहादुर केसी, अध्यक्ष राष्ट्रिय जनमोर्चा 

मैले विगतमा भनेको कुराहरुलाई पत्रपत्रिकाले कसरी प्रस्तुत गरे भन्न सक्दिनँ  । तर एमाले र माओवादी एकता हुँदा मैले त राम्रै मानेको छु । समाजवादसम्म जाने बाटोमा विवाद थियो, उनीहरुको । एउटाले बहुदलीय जनवाद भन्ने, अर्कोले २१ औं शताब्दीको जनवाद भन्ने गर्थे र समाजवादको कुरा गर्थे । यी दुवै राजनीतिक दलले समाजवादसम्म जाने भनेपछि आपसमा मिलेका छन् यो राम्रै कुरा हो । 

 

तर हाम्रो पार्टीसँग यो अहिले बनेको नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइनको धेरै कुरा मिल्दैन । सैद्धान्तिक, सांगठनिक, रणनीतिक पक्षहरु नमिलेपछि पार्टी एकता हुन सक्दैन । हामी जस्तै अरु कम्युनिष्ट पार्टीहरु पनि अन्डरलाइनसँग मिसिने कुरा यसकारण पनि सम्भव हुँदैन । 

 

केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा म पनि उपप्रधानमन्त्री थिएँ । त्यो बेला केपी ओलीले नाकाबन्दीविरुद्ध अडान लिएका कारण हामीले पनि उनलाई साथ दिएका थियौं । नाकाबन्दी हटाउन र नाकाबन्दीको प्रतिरोध गर्न केपी ओलीले आफ्नो कर्तव्य ठाने । हामीले साथ दियौं । तर केपी ओलीको त्यसभन्दा अगाडिको अतित त सबैलाई थाहा छ । 

 

अहिले सिन्डिकेट हटाए, विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउछु भनेका छन् । यो पनि केपी ओलीले गरेका राम्रा काम हुन् । अब उनले जनताको पक्षमा राम्रो काम गरे भने यसपटक पनि हामी स्वागत गछौंं । गुण र दोषका आधारमा हामी मुल्यांकन गर्छौं । प्रतिपक्षमा हुँदा खोट मात्रै लगाउने काम हामी गर्दैनौं । जो कोहीको सरकार आओस् हामी राम्रो कामको स्वागत नै गर्ने हो । नराम्रोको विरोध नै गर्ने हो । 

 

यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदा अरुण तेस्रोको शिलान्यास भयो । शिलान्यास त भयो, तर के अरुण तेस्रो बन्छ ? भनेर आम जिज्ञासा छ । यो जिज्ञासको जवाफ भनेको पञ्चेश्वर हो । हुलाकी राजमार्ग हो । नेपालका नदी नाला होल्ड गरेर राख्ने नीति हो । यो नीतिका पक्षधरहरु नेपालमा पनि छन् । जसले विभिन्न तर्क वितर्क गरेर भारतीय विस्तारवादको पक्षपोषण गर्छन् । 

 

मोदी आउँदा प्रदेश २ का मुख्यमन्त्रीले रोइकराइ गरे । नेपालको संविधान विभेदकारी छ भने । अझ मोदीलाई हाम्रा प्रधानमन्त्री पनि भने । यो त हुनु नै थियो । संघीयताले दिएको उपहार हो । तराई टुक्रा पार्ने नियतले लागू गरिएको संघीयतामा त यस्तो हुन्छ । यहि भएर त हामीले संघीयता हुनु हुँदैन भनेको हो । संघीयताले के के गर्दैछ देशमा भन्ने त देखिँदै आयो नी । 

(अध्यक्ष केसीसँग भएको कुराकानीमा आधारित) 


 

चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चा

विशेष