संसदमा मोदीको सम्बोधनका लागि सरकारको तयारी ! सभामुख भन्छन् - जानकारी छैन
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संघीय संसदलाई सम्बोधन गर्ने विषयमा सरकारले तयारी गरिरहेको छ। तर सरकारी पक्षबाट औपचारिक जानकारी आएको छैन।
सभामुख कृष्णबहादुर महराले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा संसदलाई सम्बोधन गर्ने बारे आफूलाई औपचारिक जानकारी नआएको बताएका छन्।
सभामुख महराले औपचारिक जानकारीका लागि आफूले सरकारसँग सोधेको जानकारी दिए।
बुधवार संसदीय संसद सचिवालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सभामुख महराले भने,‘सरकारको तर्फबाट औपचारिक जानकारी आएको छैन। मैले त्यसबारे सोधेको छु।’
प्रधानमन्त्री मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा संसदलाई सम्बोधन गरेका थिए। पत्रकार सम्मेलन मार्फत सभामुख महराले संसदको आगामी बजेट अधिवेशन बारे जानकारी गराएका थिए।
संघीय संसदको दोस्रो अधिवेशन २३ गते आइतबार दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकमा सहिदप्रति श्रद्धाञ्जली र अधिवेशन अघि जारीको अध्यादेशहरु प्रस्तुत हुनेछ।
त्यसैगरी २४ गतेदेखि २७ गतेभित्र नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल हुनेछ। २६ गतेदेखि तीन दिनसम्म विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तु्त र छलफल हुनेछ।
जेठको पहिलो साता राष्ट्रपतिबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ भने जेठ १५ गते बजेट प्रस्तुत हुनेछ।
नरेन्द्र मोदी संघीय संसद सम्बोधन