झलनाथले भने, ‘ममाथि अन्याय भयो’
नेकपाको ‘हाइकमान्ड’ बैठकमा वरिष्ठ नेता झलनाथ खनालले आफूमाथि वरीयताक्रममा अन्याय भएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका छन् । ‘मैले ममाथि वरीयताक्रममा भएको अन्यायबारे खुलेर कुरा राखेको छु,’ खनालले भने, ‘अहिलेको वरीयताक्रम मान्य छैन, त्यसैले पुनर्विचार गरेर सच्याइनुपर्ने ध्यानाकर्षण गराएको छु ।’
खनालको ध्यानाकर्षणपछि अध्यक्षद्वय ओली र प्रचण्डले अर्को बैठकमा त्यसबारे छलफल हुने बताएका थिए । एकीकृत पार्टीको अध्यक्षद्वयपछि दोस्रो वरीयतामा पूर्वप्रधानमन्त्री माधव नेपाललाई राखेकोमा खनालको असन्तुष्टि छ ।
४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुंगो
नेपाल कम्युनिस्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय (हाइकमान्ड)को बैठकले सबै केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो ।
केन्द्रीय कमिटी सदस्यको पूर्णसूची निर्वाचन आयोगमा बुझाइसकेपछि मंगलबार सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २४१ तथा माओवादी केन्द्रबाट २०० सदस्य छन् । पूर्वएमालेबाट १९६ जना साबिक केन्द्रीय कमिटी तथा ४५ नयाँ अनुहार समेटिएका छन् भने माओवादीबाट ८६ जना केन्द्रीय सचिवालय र बाँकी साबिकको २९९ सय सदस्यीय पोलिटब्युरो तथा पार्टी प्रवेश गरेकाहरूबाट समेटिएका छन् ।
एकीकरणका लागि तीन कार्यदल, १५ दिनको समयसीमा
नेकपाले तीन महिनाभित्र केन्द्रीय कमिटीमातहतका सबै कमिटी र जनसंगठनहरूको एकीकरण सम्पन्न गर्न तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । पार्टी विधानलाई थप स्पष्ट पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ४ सदस्यीय नियमावली मस्यौदा कार्यदल गठन गरिएको छ । कार्यदलमा पूर्वएमालेबाट महासचिव पौडेल र बेदुराम भुसाल तथा पूर्वमाओवादीबाट देव गुरुङ र खिमलाल देवकोटा छन् ।
त्यस्तै, सातवटै प्रदेश संगठन कमिटी र तलका कमिटी एकीकरणका लागि सुझाब दिन ७ सदस्यीय प्रदेश एकीरणसम्बन्धी कार्यदल बनेको छ । कार्यदलमा सम्बन्धित प्रदेशका संयोजक र सहसंयोजकहरू सदस्यका रूपमा रहने बताइएको छ ।
जनसंगठनहरूको एकीकरणका लागि तत्कालीन दुवै पार्टीका मोर्चा फाँट संयोजक र सहसंयोजक रहेका ४ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा सम्बन्धित जनसंगठनका दुई प्रमुख सदस्य रहनेछन् । तीनवटै कार्यदललाई छलफल गरेर १५ दिनभित्र एकीकरणसम्बन्धी मस्यौदासहितको सुझाब पेस गर्ने गरी समयसीमा तोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
दुई अध्यक्षले केन्द्रीय कार्यालय तोक्ने
सचिवालय बैठकले नेकपाको केन्द्रीय कार्यालयबारे निर्णय गर्ने जिम्मा अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई दिएको छ । आपसी परामर्शका आधारमा दुई अध्यक्षले तत्कालीन एमालेको धुम्बाराही र तत्कालीन माओवादीको कोटेश्वरस्थित पेरिसडाँडामध्ये एकलाई केन्द्रीय कार्यालय तोक्नेछन् ।
अर्को बैठकबाट स्थायी समिति
नेकपाले अर्को बैठकबाट स्थायी समिति सदस्यको नाम टुंगो लगाउने जनाएको छ । दुवैतर्फबाट समेट्ने ४५ जनाकै सूची तयार भइसके पनि अर्को बैठकबाट मात्र स्थायी समिति गठन गर्ने समझदारी सोमबारको बैठकमा भएको हो ।
चार नेतालाई स्थायी समितिमा लैजाने तयारी
नेकपाको स्थायी समितिमा पूर्वएमालेबाट चार नेताको बढुवा गर्ने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी भएको छ । तत्कालीन पार्टीमा पोलिटब्युरो सदस्य रहेका बेदुराम भुसाल, रघुजी पन्त र विष्णु रिमाल साथै केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई स्थायी समिति सदस्यमा मनोनीत गर्ने समझदारी भएको हो ।
४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेका तर्फबाट २६ जनामध्ये अमृतकुमार बोहरा, केशव बडाल, सोमनाथ प्यासी आमन्त्रित सदस्यका रूपमा रहने भएपछि रिक्त पदमा उनीहरूलाई मनोनीत गर्न लागिएको केन्द्रीय सचिवालयका एक सदस्यले बताए । अर्का आमन्त्रित सदस्य डा. पुष्प कँडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएकाले राजीनामा दिइसकेका छन् ।
६ केन्द्रीय सदस्य हेरफेर
पूर्वएमालेका तर्फबाट मनोनीत केन्द्रीय सदस्यको नाममा नेता भीमबहादुर रावलले असन्तुष्टि जनाएपछि उनकै सिफारिसअनुसार ७ नम्बर प्रदेशबाट ३ केन्द्रीय सदस्य हेरफेर गरिएको छ । अन्य ३ जनासहित सोमबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ६ जनाको नाम हेरफेर गरेको हो ।
यसअघि सार्वजनिक गरिएका पुण्य गौतम, साध्यबहादुर भण्डारी र दयालबहादुर शाही हटाएर राजेन्द्रसिंह रावल, लालबहादुर विक र दीपक देवकोटालाई मनोनीत गरिएको छ । त्यस्तै, स्थायी समितिका आमन्त्रित सदस्यको रिक्त स्थानमा केन्द्रीय कमिटीमा सोभियत ढकाल, उमा कोइराला र नारायण सिलवाललाई मनोनीत गरिएको छ ।
झलनाथ खनाल नेकपा वरीयताक्रम