मुख्य समाचार राजनीति

राष्ट्रपति भण्डारी संसदमा जाँदा जे देखियो…

राष्ट्रपति भण्डारी संसदमा जाँदा जे देखियो…

काठमाडाैं । संविधान घोषणापछि गठित पहिलो संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक संसद् भवन पुगिन् । राष्ट्रपतिको सम्बोधनका क्रममा संयुक्त सदन बस्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका ५९ सांसद र प्रतिनिधिसभाका २७५ सांसद एउटै हलमा जम्मा हुँदै थिए ।


अपराह्न ४ बजेपछि राष्ट्रपति भण्डारी संघीय संसद् भवन नयाँ बानेश्वर पुगिन् । त्यसअघि नै कार्यबाहक प्रधानन्यायाधीश, संवैधानिक आयोगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरूलगायत उच्चपदस्थ व्यक्ति पुगिसकेका थिए ।


राष्ट्रपति जाने भएपछि संसद् भवन राष्ट्रिय झन्डा, ध्वजापताका, फूललगायतले सजाइएको थियो । पानीको फोहोराले संसद् भवन झकिझकाउ बनाइएको थियो । संघीय संसद्लाई राष्ट्रपति भण्डारीले १ घन्टा १ मिनेट सम्बोधन गरिन् ।


राष्ट्रपतिको सम्बोधन सुन्न सांसद भरिभराउ थिए । विशेष परिस्थितिबाहेक प्रायः अधिकांश सांसदको कुर्सी खाली रहने गरे पनि सोमबार भरिभराउ देखियो । नेकपाका नेताहरूको वरीयताक्रमबारे धेरैको चासो थियो । दर्शक–दीर्घामा समेत कुनै कुर्सी खाली थिएनन् । दर्शक–दीर्घाबाट टाउको उठाएर धेरैले नेकपाका को नेता कहाँ बसेका छन् भनेर हेरिरहेका देखिन्थे ।


सत्तापक्षको पहिलो सिटमा अध्यक्ष प्रचण्ड, दोस्रोमा माधवकुमार नेपाल, तेस्रोमा झलनाथ खनाल, चौथोमा विष्णु पौडेल र पाँचाैँ अर्थात् अघिल्लो ‘रो’को अन्तिम कुर्सीमा सुवास नेम्वाङ बसे । झलनाथ खनालले तेस्रो वरीयताप्रति असन्तुष्टि जनाए पनि कुर्सीमा भने उनी तेस्रो वरीयताको चौथो कुर्सीमै बसे । पहिलो वरीयताका अर्का अध्यक्ष केपी ओली प्रधानमन्त्रीको हैसियतमा सरकारका मन्त्रीहरू बस्ने ‘रो’को पहिलो नम्बरमा थिए । नयाँ पत्रिका दैनिकबाट

विद्यादेवी भण्डारी केपी ओली माधवकुमार नेपाल झलनाथ खनाल संसद् भवन नयाँ बानेश्वर

विशेष