राजनीति

बाबुरामले भने, ‘प्रदेश २ का मुख्यमन्त्रीलाई अमेरिका जान नदिनु गलत’ 

बाबुरामले भने, ‘प्रदेश २ का मुख्यमन्त्रीलाई अमेरिका जान नदिनु गलत’ 

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका जानबाट रोक्नु केन्द्र सरकारको भूल भएको बताएका छन् । उनले केन्द्र सरकारको यस्तो कामले प्रदेश–केन्द्रबीच दूरी बढ्ने उल्लेख गरेका छन् । 

सिके राउत समर्थकहरुको एनजिओ भनिएको मधेसी एसोसिएन इन अमेरिकाको निम्तोमा अमेरिका जान खोजेका राउतलाई सरकारले अनुमति दिएको थिएन । सरकारले आफ्नो निर्णय सच्याउनु पर्ने भन्दै भट्टराईले लेखेका छन्, ‘ प्रदेश–२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ । कारण जेसुकै भए–दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका–दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ ! संघीय सरकारले तुरून्त निर्णय सच्याओस् !’

स्वतन्त्र मधेस पक्षधर एनजिओले बोलाएको कार्यक्रममा लालबाबुलाई सरकारले जान नदिने निर्णय गरेको हो भन्ने चर्चा छ । तर बाबुराम भट्टराई लालबाबु राउतको पक्षमा उभिएका छन् । 

नेपालमा संविधान जारी हुँदै गर्दा भट्टराईले यो नेपाल भन्ने देश रहने नरहने आगामी २४ घण्टामा फैसला हुने बताएका थिए । 
जबजब राष्ट्रिय अखण्डताको विषय अगाडि आउँछ, डा. भट्टराईको विवादास्पद भनाई सार्वजनिक हुने गर्छन् । 
 

विशेष