मुख्य समाचार राजनीति

कांग्रेसले भन्योः नीति तथा कार्यक्रम योजनाको पुलिन्दा

कांग्रेसले भन्योः नीति तथा कार्यक्रम योजनाको पुलिन्दा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिँदै संघीय संसदमा त्यसबारे आवाज उठाउने निर्णय गरेको छ।

 

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पुरानै शैली र केन्द्रीकृत प्रणालीको सपना बाँड्ने योजनाको पुलिन्दा मात्रै भएको टिप्पणी गरेको छ।

 

नीति तथा कार्यक्रममा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको, एक वर्षभित्र कुन–कुन क्षेत्रमा के–कति उपलब्धि हुन्छ भन्ने रेखांकन नगरिएको आरोप कांग्रेसले लगाएको छ।

 

देश संघीय संरचनामा रहे पनि नीति तथा कार्यक्रमले तीन तहको सरकार भएको अनुभूति दिन नसकेको तथा पूर्ववर्ती सरकारको जस्तै केन्द्रीकृत नीति अवलम्बन गरिएको ठहर कांग्रेसले गरेको छ।

 

नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारलाई मार्गदर्शन गरी हातेमालो गर्दै अघि बढ्नुपर्ने भए पनि त्यो नगरी घोषणापत्रमा सीमित भएकाले जनताको विकास र समृद्धिको सपना साकार पार्न आफूहरुले संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

 

सरकारले नीति तथा कार्यक्रमका सैद्धान्तिक पक्षबारे प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरी एकलौटी रुपमा अघि बढेको टिप्पणी समेत कांग्रेसले गरेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सरकारले नियोजित रुपमै राष्ट्रियसभा र प्रतिनिधिसभाको अपमान गरेको ठहर पनि कांग्रेसले गरेको छ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

नीति तथा कार्यक्रम काँग्रेस योजनाको पुलिन्दा

विशेष