अपराध सुरक्षा मुख्य समाचार देश

साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला

साल्ट ट्रेडिङमा सवा ३ अर्बको घोटाला

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ । अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो । 

 

समितिको छानबिन प्रतिवेदनअनुसार कर्पोरेसनले सरकारले दिएको १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ, जापानबाट प्राप्त ९९ करोड ३८ लाख ५२ हजार रुपैयाँ बराबरको वस्तुगत र भारतबाट प्राप्त ५० करोड ३८ लाख रुपैयाँ नगद अनुदान सरकारको नाममा सेयरमा परिणत नगरी अपचलन गरिएको हो । विभिन्न समयमा कर्पोरेसनलाई प्राप्त अनुदान आफ्नो नाममा सेयरमा परिणत गर्न सरकारले ०६७/६८ मै निर्देशन दिए पनि कर्पोरेसनले अटेर गर्दै आएको थियो ।

  

अनुदान रकम

नेपाल सरकार १,६३,१६०००००

 जापानबाट प्राप्त ९९,३८,५२०००

भारतबाट प्राप्त ५०,३८,०००००

 

प्रतिवेदनमा अपचलन भएको रकम तत्काल सरकारको सेयर लगानीमा परिणत गर्न सुझाइएको छ । कर्पोरेसनमा हाल सरकारको २१ दशमलव २८ प्रतिशत र निजी व्यवसायीको ७८ दशमलव ७२ प्रतिशत सेयर लगानी छ । यसबाहेक अनुदानबापतको ठूलो लगानी सरकारकै हो । तर सेयर हिस्सा कम रहेकाले अनुदानका रूपमा ठूलो लगानी भए पनि सरकारले लाभांश भने अति न्यून पाउँदै आएको छ । सरकारको लगानीबाट लाभको ठूलो हिस्सा निजी व्यवसायीले पाउने अवस्था कर्पाेरेसनमा रहेको जानकार औंल्याउँछन् ।

 

अर्थ स्रोतका अनुसार कर्पोरेसनले सेयर संरचना नै बिगारेर यति ठूलो रकम घोटाला गरेको हो । ‘कुनै पनि कम्पनीमा त्यसको सेयरहोल्डरले गरेको लगानी कायम हुने सर्वमान्य सिद्धान्त हो । सोही मान्यताअनुरूप सो कम्पनीमा सेयरहोल्डर रहेको नेपाल सरकारका योगदानलाई सरकारको लगानीका रूपमा कायम नगर्दा सरकारलाई नोक्सान हुन जान्छ,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ, ‘तसर्थ, नेपाल सरकारले उक्त कम्पनीमा पटकपटक गरेका अनुदानलगायतका लगानीलाई सेयर लगानीका रूपमा लेखांकन गर्नुपर्नेमा सो गरेको देखिएन । यस प्रक्रियालाई विधिसम्मत रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ ।’ कान्तिपुर दैनिकबाट

घोटाला अर्थ मन्त्रालय साल्ट ट्रेडिङ

विशेष