नेपाललाई ओपीजीको सदस्य बन्न निमन्त्रणा
काठमाडौँ । अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले जनप्रतिनिधि र सरकारी अधिकारीहरूले लिने कुनै पनि निर्णय जनउत्तरदायी हुन आवश्यक रहेको बताएकी छन् । त्यसैका आधारमा जनताको विश्वासलाई उपयोग कि दुरुपयोग स्पष्ट हुने उनले बताइन् ।
अमेरिकी दूतावासले काठमाडौंमा गरेको ‘ओपन गभर्नमेन्ट पार्टनरसिप’ (ओपीजी) कार्यक्रममा उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन सरकारले लिएको शून्य सहनशीलताको नीति आफैंमा महत्त्वपूर्ण रहेको बताइन् । ‘यसका लागि पारदर्शिता पहिलो सर्त हो,’ उनले भनिन् । जनताप्रति उत्तरदायी भएर उनीहरूको विश्वास जित्न भ्रष्टाचारविरुद्ध अभियानसमेत आवश्यक पर्ने राजदूतले बताइन् ।
राष्ट्रिय समृद्धिको विषयमा अहिले धेरै कुरा उठिरहेको तर्फ इंगित गर्दै उनले भनिन्, ‘पारदर्शिता नभएसम्म र जनताको अविश्वास नचिरेसम्म विकास र समृद्धि टाढाको विषय हुनेछ ।’ नेपाल र अमेरिकाले भ्रष्टाचारविरुद्ध सहकार्य गर्ने साझा प्रतिबद्धता व्यक्त गरिसकेका छन् । दुवै मुलुकले राष्ट्रसंघको भ्रष्टाचारविरुद्धको अभिसन्धिमा हस्ताक्षर गरेर सहकार्य थालेका हुन् ।
ब्राजिल, इन्डोनेसिया, मेक्सिको, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र अमेरिकाले सन् २०११ मा एक बडापत्र पारित गर्दै जनप्रतिनिधि र सरकारी अधिकारीलाई जनउत्तरदायी बनाउन थालेको अभियान नै ओपीजी हो ।