अर्थ कर्पोरेट मुख्य समाचार देश

नयाँ हवाई प्रवेश विन्दुमा भारतकाे आलटाल

नयाँ हवाई प्रवेश विन्दुमा भारतकाे आलटाल

काठमाडौंं । नयाँ हवाई प्रवेश विन्दुका लागि भारतीय पक्षले आलटाल गर्दै आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक समिति र प्राधिकरणले बारम्बार नयाँ हवाई प्रवेश विन्दुका विषयमा छलफल गर्न चाहे पनि भारतीय पक्षले चासो दिएको छैन।

 

‘हवाई प्रवेश विन्दुका विषयमा छलफलका लागि बारम्बार पत्र पठाइएको छ’, नेपालका तर्फबाट छलफलका लागि गठन गरिएको प्राविधिक टोलीका प्रमुख दीपक बरालले भने, ‘भारतीय नागरिक उड्डयनको प्राविधिक टोलीबाट जवाफ आएको छैन।’ नयाँ हवाई प्रवेश विन्दुका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले सन् २०१६ को डिसेम्बरदेखि भारतीय पक्षसँग छलफल सुरु गरे पनि अहिलेसम्म टुंगो लाग्न नसकेको बराल बताउँछन्।

 

नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ।

 

भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग गरे पनि भारतीय पक्षले अहिलेसम्म स्वीकृति दिएको छैन। यसैगरी पश्चिमतर्फका देशबाट आउने जहाजका लागि नेपालले भारतीय पक्षसँग नेपालगन्ज प्रवेश विन्दु माग गरेको छ। नयाँ हवाई प्रवेश विन्दुको विषय तीन प्रधानमन्त्रीको भारत भ्रमणको मुद्दा बनिसक्दा पनि पूरा हुन सकेको छैन। यस विषयमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीको हैसियतामा उच्चस्तरीय छलफल गरिसकेका छन्।

 

मन्त्रालय र प्राधिकरणले सुरु गरेको छलफलमा पहिलोपटक भारतीय पक्षले यो विषय दुई देशको उच्चस्तरीय राजनीतिक छलफलबाट टुंगो लगाउनुपर्ने अडान लिएको थियो। भारतीय पक्षको अडानपछि मन्त्रालय र प्राधिकरणले पहिलोपटक पुष्पकमल दाहालको भारत भ्रमणमा नयाँ हवाई प्रवेश विन्दुको विषय उजागर गरेको थियो। तर, दुई देशको छलफलमा नयाँ हवाई प्रवेश विन्दु प्राविधिक विषय हो। यसलाई प्राविधिक रूपमा अध्ययन गरी टुंगो लगाउनुपर्ने भारतीय पक्षले उच्चस्तरीय छलफलबाट टुंगो लगाउने भनिएको विषय अन्यन्त्र डाइभर्ट गरेको थियो।

 

भारतसँगको उच्चस्तरीय छलफलमा भएको निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय नागरिक उड्डयन प्राधिकरणले आआफ्नोतर्फबाट प्राविधिक समिति गठन गरे। समिति गठन भए पछि २०७३ असोजमा दुई पक्षीय छलफलको मिति तय भएको थियो। ‘नयाँ हवाई प्रवेश विन्दुका विषयमा हामीलाई भारतीय पक्षले छलफलमा बोलाएको थियो’, बरालले भने, ‘निर्वाचन आचारसंहिताका कारण हामी जान सकेनौं।’ त्यसपछि फेरि हामीले भारतीय पक्षलाई बारम्बार पत्र पठारहेका छौं। तर, भारतीय पक्षयले पत्रको जवाफ दिएको छैन। ’ याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा छ ।

जनकपुर विराटनगर भारतीय नागरिक उड्डयन हवाई प्रवेश विन्दु

विशेष