प्रचण्डले भने, ढुक्क हुनुस् वर्तमान सरकार पाँच वर्षसम्म ढल्दैन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दावी गरेका छन् । अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्य र मान्यता अनुसार अघि बढने पनि स्पष्ट पारे ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कसैले हिल्याएर नहिल्ने दावी गरेका हुन् ।
अध्यक्ष दाहालले विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनु परेको पनि उल्लेख गरे ।
उनले भने, 'विकास, समुन्नति र सुशासनको माध्यामबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौती छ ।'
अध्यक्ष दाहालले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने प्रतिवद्धता व्यक्त गरे । जनताले सरकारबाट ठूलो अपेक्षा गरेको पनि उनले बताए ।
पुष्पकमल दाहाल प्रचण्ड