मुख्य समाचार राजनीति

हल्का र हावादारी : कांग्रेस

हल्का र हावादारी : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम हल्का र हावादारी भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय दोब्बर बनाउने भनिएको छ । तर कार्यशैली हेर्दा हल्का र हावादारी लाग्छन् ।’

 

देउवाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम र दुरदृष्टि नरहेको बताए । उनले भने, ‘नीति तथा कार्यक्रममा कुनै नौलो कार्यक्रम छैन, दुरदृष्टि पनि हेरिएको छैन । एक वर्षमा यति गर्छु, पाँच वर्षमा यति गर्छु भनेर लेखिएको पनि कही पाइएन ।’ देउवाले झन्डै दुईतिहाइ बहुमतको सरकारले ल्याएको नीति तथा कार्यक्रम हेर्दा अवसर गुम्ने हो कि भन्ने चिन्ता लागेको बताए ।देउवाले निजी क्षेत्र उत्साहित हुने गरी कार्यक्रम नआएको बताए । उनले भने, ‘मुलुकमा ७० प्रतिशत लगानी निजी क्षेत्रको छ । तर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीति आएको छैन ।’

 

नीति तथा कार्यक्रमले संघीयता कार्यान्वयन गर्न कानुनी र प्रशासनिक सुधारका कार्यक्रमप्रति प्रतिबद्धता नजनाएको भन्दै देउवाले असन्तुष्टि व्यक्त गरे । उनले कार्यक्रम हेर्दा १२ वर्षभित्र दिगो लक्ष्य पूरा हुन नसक्ने बताए ।


देउवाले सरकारले राष्ट्रियताको पाठ पढाउन लागेको भन्दै व्यंग्य गरे । ‘सीमामा सुरक्षा गरिरहेका उत्तरमा बस्ने नेपाली होस् वा दक्षिणमा बस्ने नेपाली होस्, सबै राष्ट्रवादी छन् । तिनलाई राष्ट्रवादको पाठ पढाउनु पर्दैैन,’ देउवाले भने ।

 

कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको सोचअनुसार समाजवादको दिशामा जाने गरी वर्तनमा सरकारले नीति तथा कार्यक्रम ल्याएको देउवाले टिप्पणी गरे । उनले भने, ‘सुरुमा १३ अर्ब मात्रै राजस्व संकलन हुन्थ्यो, अहिले सात सय ३० अर्ब राजस्व संकलन हुन्छ ।’ देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ‘सम्मानीय र महोदय’ भनेर सम्बोधन नगरी नीति तथा कार्यक्रम पेस गरेको आरोप लगाए । उनले त्यसलाई संशोधन गर्न पनि माग गरे। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

शेरबहादुर देउवा नेपाली काँग्रेस नीति तथा कार्यक्रम टिप्पणी

विशेष