मुख्य समाचार राजनीति

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै सरकार

फोरमसँग सम्बन्ध चिसिएपछि राजपा फकाउँदै सरकार

काठमाडौं । संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ।

 

प्रधानमन्त्रीले मंगलबार साँझ राजपा अध्यक्ष मण्डलका सदस्यहरूसँग संयुक्त छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्रीले राजपाका नेताहरूलाई सरकारमै आएर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले भनेका थिए, ‘तपार्इं हामी सँगसँगै काम गर्ने वातावरण बनाऔं । सरकारमा आउनुहोस् ।’

 

जवाफमा राजपा नेताहरूले संविधान संशोधन गर्ने वातावरण बनाए आफूहरू सरकारमा आउने जनाएका थिए । स्रोतका अनुसार राजपाका नेताहरूले भनेका थिए, ‘हात्ती छिर्यो । पुच्छर अड्कियो जस्तो भएको छ । यही संविधान मानेर हामी चुनावमा गयाँै । प्रदेश दुईमा सरकार बनायौँ । केन्द्रमा सरकरलाई सहयोग ग¥यौँ । अब पनि संविधान संशोधन गर्न किन अड्काउने ?’

 

बैठकमा सहभागी राजप अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले आफूहरूलाई सरकारमा आउन आग्रह गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले हामीलाई सरकार आउनुहोस् भन्नुभयो ।

 

हामीले संविधान संशोधन गर्ने वातावरण बनाए सरकारमा आउँछाै भन्याै । ’ संविधान संशोधन गर्ने राजपाको प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको पनि उनले बताए । यसैगरी राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संविधान संशोधन गर्ने राजपाको प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक रूपमा लिएको बताए ।

 

उनले भने, ‘हामीले राखेको प्रस्तावलाई प्रधानमन्त्रीले सकरात्मक रूपमा लिनु भएको छ ।’ प्रधानमन्त्रीसँगको भेटमा राजपाका नेताहरूले सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएमा विश्वासको वातावरण निर्माण हुने बताएका थिए ।  नागरिक दैनिकबाट ।

राष्ट्रिय जनता पार्टी

विशेष