मुख्य समाचार देश

दूधको तर मारेर करोडौं घोटाला

दूधको तर मारेर करोडौं घोटाला

काठमाडौं ।  दुग्ध विकास संस्थान (डीडीसी)का अध्यक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको दाबी गरेका छन्। संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा दुई दशमलव आठ प्रतिशत मात्र रहेको पाइएपछि संस्थानका अध्यक्ष रघु गौतमले यस्तो अभिव्यक्ति दिएका हुन्।

 

‘दूधमा तरको परिमाण २.८ भेटियो। यो तोकिएको मापदण्डभन्दा कम हो। यो ठगी हो नै’ अध्यक्ष गौतमले अन्नपूर्णसँग स्विकारे, ‘डीडीसीको दूधमा एक लाइनदेखि १० लाइनसम्म तर मार्ने चलनै छ। लाइन मारेको तरबाट घिउ बनाएर बाहिरी बजारमा गुपचुप बिक्री हुने गरेको पाइयो।’ वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर छानबिन गर्न भने सकेको छैन। किसानबाट दूध खरिद, प्रशोधन र प्याकेजिङको समयमै छापा मारेर नमूना परीक्षण हुन नसकेका कारण यस्तो भएको सरोकारवालाको भनाइ छ। 

 

प्रशोधित दूधमा कम्तीमा चिल्लोपनबाहेक ठोस पदार्थ (एसएनएफ)को मात्रा आठ र घृतांश वा तर (फ्याट)को मात्रा ३ प्रतिशत अनिवार्य हुनुपर्ने मापदण्ड बनाइएको छ। आठ प्रतिशत एसएनएफ र तीन प्रतिशत तर भएको दूधलाई मात्रै गुणस्तरीय मानिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए। ‘दूधमा योभन्दा कम परिमाणमा एसएनएफ र फ्याट देखियो भने त्यो न्यून गुणस्तरभित्र पर्छ’, उनले भने, ‘यस्तो दूध र पानी खानु उस्तै हो।’

 

विभिन्न समयमा डीडीसी र निजीक्षेत्रका डेरी उद्योगको दूधको गुणस्तर परीक्षण गर्दा धेरैपटक २.६ देखि २.९ प्रतिशतसम्मको हाराहारीमा मात्रै तरको उपस्थिति भेटिएको विभागको भनाइ छ। डीडीसीका कर्मचारीले ‘नियत’वश दूधको तरमा लाइन मारेर अनैतिक रूपमा आर्थिक उपार्जन गर्न सक्ने वरिष्ठ खाद्य वैज्ञानिक सुमन धितालले बताए। याे खबर अाजकाे अन्नपूर्णपाेष्ट दैनिकमा छ । 

घोटाला  दुग्ध विकास संस्थान दूधमा तर मापदण्ड

विशेष