मुख्य समाचार राजनीति

कांग्रेसका भ्रातृ संगठनमा गुटको आगो बल्न थाल्याे

कांग्रेसका भ्रातृ संगठनमा गुटको आगो बल्न थाल्याे

काठमाडौं । कांग्रेसको भ्रातृ संगठन महिला संघमा पार्टी सभापति शेरबहादुर देउवानिकट अध्यक्ष उमा अधिकारीले महामन्त्रीमा मञ्जु खाँणलगायत आफूअनुकूल केही पदाधिकारी मनोनयन गरेपछि संघमा विवाद उत्पन्न भएको छ। मञ्जु देउवा समूहका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणकी पत्नी हुन्।

 

यसले कांग्रेसभित्र पछिल्लो समय चर्केको गुटबन्दीको प्रभाव भ्रातृ संगठनहरूमा समेत परेको प्रस्ट पारेको छ। पछिल्लो समय कांग्रेसका भ्रातृ संगठन नेविसंघ, महिला संघसँगै पार्टी सभापति देउवाले गठन गरेको अनुशासन समितिमा पनि विवाद देखिएको छ। अनुशासन समितिका संयोजक रमेश रिजालले पनि आन्तरिक कलहकै कारण पदबाट राजीनामा दिएका छन्।

 

यसअघि उपाध्यक्ष लगायतको मनोनयनमा असन्तुष्ट सिटौला समूह खाँणको नियुक्तिपछि आक्रोशित भएको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट महामन्त्री धनकुमारी खतिवडा मनोनयनको विरोधमा उत्रिएकी छन्। महामन्त्री खतिवडाले भनिन्, ‘अध्यक्षको गल्तीविरुद्ध हामी लड्छौं।’ महिला संघको चुनावमा देउवा र सिटौला समूह मिलेका थिए। पदाधिकारी मनोनयनमा देउवा समूहले एकलौटी गरेको सिटौला समूहको आरोप छ।

 

१३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई बेवास्ता गर्दै सभापति देउवाले नेता कृष्णप्रसाद सिटौलासँग मिलेर नेविसंघ, महिला संघलगायत भ्रातृसंगठनलाई पूर्णता दिएका थिए। आम निर्वाचनपछि सिटौला नै देउवाविरुद्ध उत्रिएपछि त्यसको प्रभावस्वरूप भ्रातृ संगठनमा विवाद देखिन थालेका छन्।

शेरबहादुर देउवा नेपाली काँग्रेस महिला संघमा पार्टी मञ्जु देउवा

विशेष