समालोचक पौड्याल भन्छन्ः पार्टीका कार्यकर्ताले लेख्न थाले साहित्य (भिडियो)
काठमाडौं । महेश पौड्याल अंग्रेजी साहित्यको प्राध्यापक हुन् । नेपाली साहित्यका विविध विधामा कलम चलाइरहेका उनी समालोचकको रुपमा परिचित छन् ।
पछिल्लो समय कथा लेखनमा सक्रिय पौड्यालको ‘त्यसपछि फुलेन गोदावरी’ कथा संग्रहले विमल गुरुङ स्मृती पुरस्कार प्राप्त गर्न सफल भयो । लेखन सँगसँगै पुस्तक अनुवादमा पनि उतिकै प्रखर उनी युवा पुस्तालाई निकै प्रोत्साहन गर्छन् । पौड्यालसँग वर्तमान नेपाली साहित्यको अवस्था र लेखनको विषयमा नेपालआजका लागि समर्पण श्री ले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ :
गम्भिर प्रोजेक्ट : त्यसपछि फुलेन गोदाबरी
‘त्यसपछि फुलेन गोदावरी’ मेरो गम्भिर कथाको प्रोजेक्ट हो । २०६७ सालमा प्रकाशन भएको ‘अनामिक यात्री’ मेरो पहिलो कथा थियो । त्यसको खासै चर्चा भएन । प्रचार प्रसार र बजार वितरण गर्न पनि चाहिँन । किनकी त्यसमा धेरै त्रुटीहरू थिए र पुस्तकको छपाइ पनि कमसल थियो । ‘त्यसपछि फुलेन गोदावरी’लाई मैले पहिलो पटक प्रचारमा लगेँ । पाठकहरूबाट पनि राम्रो प्रतिक्रिया आयो ।
यो पुस्तकले विमल गुरुङ स्मृती पुरस्कार पायो, जुन प्रतिष्ठानले यो सालबाट प्रदान गरेको पहिलो पुरस्कार पनि थियो । विशेषगरी म युवाहरूको बीचमा रमाउने हुनाले उनीहरूलाई उत्प्रेरित गर्दा खुसी हुन्छु । यो पुरस्कार पाउँदा म मा जिम्मेवारी थपिएको महशुस भएको छ । कथा त राम्रो लेख्नु नै छ, साथै युवाहरूसँग सहकार्य गर्न जरुरी छ । त्यसकारण यो पुरस्कारले मलाई जिम्मेवारी बोध गराएको छ ।
युवापुस्ता : हाम्रा उत्तराधिकारी
म विशेषगरी युवापुस्तासँग घुलमिल हुन मन पराउँछु । युवापुस्ताहरूले पुस्तकका पानामा मृत कविताका अक्षरलाई स्टेजसम्म लैजाने सके । नयाँ पुस्तहरू फरक तवरले आएका छन् । उनीहरूलाई प्रोत्साहन गर्नु मेरो कर्तब्य हो ।
तर युवासँग हिँड्दा धेरै आलोचना पनि आउँछ । युवाहरू बोकेर हिँड्यो भनेर आलोचना गर्नेहरू छन् । उनीहरू भन्छन् ‘महेशले हामी स्थापित लेखकको बारेमा लेख्दैन । साना सानाहरूको बारेमा लेख्छ ।’ तर मलाई लाग्छ कि म बाँच्ने भनेकै मेरो उत्तराधिकारीहरूले गर्दा हो । युवा पुस्तामा प्रचुर सम्भावना पनि छ । सही बाटो देखायो भने युवाहरू निकै तिखारिएर आउन सक्छन् ।
अंग्रेजी पढेँ, नेपाली लेखेँ
मेरो बाबा भाषा साहित्यको शिक्षक हुनुहुन्थ्यो । बाबाको प्रभावले साहित्य अध्ययनमा लागेँ । मैले नेपाली भाषाको पुस्तक पढ्नुअघि नै रविन्द्रनाथ टेगोरलाई पढेको हुँ । टेगोर एउटा लेखकमात्र होइन । उनी कालान्तरमा संस्कृती भए । म मा टेगोरको प्रभाव अत्यन्तै धेरै छ । नेपाली कथाहरूमा भवानी भिक्षुबाट प्रभावित छु । पश्चिमी कथाकारहरूमा एन्टोन चेखबबाट प्रभावित छु र भाषामा ओष्कर वाइल्डबाट प्रभावित छु ।
उसो त म अगं्रेजी साहित्यको विद्यार्थी तर मैले योगदान भने नेपाली साहित्यको लागि दिन थालेँ । यसको पछाडी एउटा अभिष्ट छ । हामीले अब विश्वसँग प्रतिष्पर्धा गर्ने हो । विश्वलाई नियाल्ने हो । लेखनमा पहिले आइसकेका कुराहरू फेरि दोहोरिएर आउनु जरुरी छैन । हामीसँग फरक संस्कृती छ, फरक भाषा छ, हाम्रो वाङ्मय । निजी परम्पराको उत्खनन् गर्नु छ । यसको लागि एक जनाले मात्र गरेर हुँदैन । एउटा पुरै पुस्ता नै लाग्नुपर्छ । यही अभियान र विचारलाई प्रवाह गर्नका निम्ति म नेपाली साहित्य लेखनमा लागिरको छु ।
नायक नजन्माएको बालसाहित्य
नेपालमा बालसाहित्यको बजार चित्तबुझ्दो छ । अहिले धेरै स्कुलहरूले पठन संस्कृतीको विकास गरेका छन् । लाइब्रेरीहरूको व्यवस्था स्कुलमा छ । समय समयमा पुस्तक मेलाहरू लागिरहन्छन् । मेलामा गएर मनपरेका पुस्तकहरू किनिदिने परिपाटीको विकास भएको छ । तर बालसाहित्यको गुणवत्ता कस्तो छ भन्ने कुरामा प्रश्न उठ्न सक्छ ।
बालसाहित्य लेखनमा धेरै समस्या छन् । केही वाक्य पढ्ने वित्तिकै बालबालिकाले भन्न सक्छन् कि कथा कता बगिरहेको छ भनेर ! हाम्रा बाल कथाकारहरूले कथामा सन्देशमात्र दिन खोज्छन् । पछिल्लो समय बालसाहित्य पार्टीका मान्छेहरूले लेखिरहेका छन् । बालबालिकालाई यस्तो साहित्यले कता पु¥याउँछ ? यतिको वर्षमा नेपाली बालसाहित्यले एउटा पनि नायक जन्माउन सकेन । जो जस्तो भन्छु भनेर कुनै पनि बालकले भन्न सकोस् । कुनै पनि सम्झन लायक पात्र नेपाली बालसाहित्यमा जन्मन सकेका छैनन् । यो एउटा बिडम्बना हो ।
लेखक नयाँ : शैली पुरानो
नेपली कथाको सन्दर्भमा अघि एउटा स्वर्णयुग आयो । जतिबेला गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, वीपी कोइराला, रमेश विकल, विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठालेले कथा लेथा लेख्नुभयो त्यस बेलामा नेपाली कथाले जुन उचाई प्राप्त गरेको थियो केही समय त्यो कायम नै रह्यो । बीचमा सशक्त ढगंबाट मनु ब्राजाकी, माया ठकुरी, माधव भन्डारी, धु्रवचन्द्र गौतम, धु्रव सापकोटा जस्ता कथाकारहरूले कथाको वीरासतलाई समाते । त्यसपछि नेपाली कथामा एक किसिमको खडेरी प¥यो । यति हुँदाहुँदै ०४६–०६० को बीचमा दुई÷तीन जना राम्रा कथाकारको उदय भयो । कृष्ण धरावासी, महेश विक्रम शाह हुँदै अमर न्यौपाने लगायतको उदय भयो ।
कथामा हामी गम्भिर रुपमा प्रस्तुत हुन आवश्यक छ । लामो समयसम्म कथामा खडेरी भएको बोध मलाई भयो त्यसपछि जिम्मेवारी बोध गर्दै म आफू कथामा प्रवेश गरेको हुँ ।
साहित्यमा अब हामी विस्तारै नयाँ शैली तिर प्रवेश गर्नुपर्छ । पछिल्लो समय प्रयोगवादी साहित्य नेपाली बजारमा आएका त छन् तर पाठकको अदालतमा स्वीकृत भएका छैनन् । सामान्य पाठकले सरल पुस्तक पढ्न चाहन्छन् । मेरै कथा पनि सरल हुन्छन् ।
सामान्य पाठकले पढ्न र बुझ्न सक्छन् । तर म स्वीकार गर्छु कि मैले पनि पुरानै शैलीमा कथा लेखिरहेको छु । परिवर्तन विस्तारै हुने हो । एकैपटक परिवर्तन गर्न खोज्दा कुनै पनि विधा सफल भएको मैले देखेको छैन । तर एउटा मात्र त्यस्तो विलक्षण रुपमा सफल भएका हुन् कुमार नगरकोटी । उनले गरेको प्रयोगलाई सामान्य पाठकले खोतल्न नसके पनि एउटा फरक छाप नेपाली साहित्यमा छाड्न सफल भएका छन् ।
गुटले बिगार्यो नेपाली साहित्य
पछिल्लो समय गुटबन्दीले धेरै नराम्रो गरेको छ । राम्रा पुस्तक नेपथ्यमा छन् भने कमजोर पुस्ताकहरूले चर्चा बटुलिरहेका छन् । पुरस्कार तथा सम्मान पनि आफ्नो गुटका लेखकलाई भनसुन गरेर पार्ने चलन पनि छ । प्रतियोगिताहरूमा पनि त्यो किसिमको चलखेल छ । यसले नेपाली साहित्यको गुणवत्ता बढाएको छैन भने राम्रा लेखकमा नैराश्य बढाएको छ । यहाँ हल्लाको पछाडी सबै लागे, असली कस्तुरी जे छ त्यो भेटिन सकेको छैन ।
साहित्य महेश पाैड्याल