Technology भिडियो

आन्दोलित आईटी विद्यार्थीको गुनासोः सरकारले भविष्य बर्बाद बनायो (भिडियो)

आन्दोलित आईटी विद्यार्थीको गुनासोः सरकारले भविष्य बर्बाद बनायो (भिडियो)

काठमाडाैं । आईटी क्षेत्रको विकासबाट मात्रै देश विकास र समृद्धि सम्भव छ भन्ने कुरा धेरैले विश्वास गरेको कुरा हो । सरकारले भन्दैआएको समृद्धि, विकास वा काठमाडौं महानगरपालिकाले भन्ने गरेको स्मार्ट सिटी आईटीको विकास विना सम्भव छैन ।

 

तर नेपालमा रहेका सयौंको संख्यामा आईटीका विद्यार्थीहरु आन्दोलित छन् । कम्प्युटर अधिकृतको रुपमा काम गर्न योग्य र विशेषज्ञता भएका आईटी विद्यार्थीको अवसर हटाउँदै सरकारले कम्प्युटर साईन्सका विद्यार्थीलाई भर्ना गर्ने गरी गरेको निर्णयबाट रुष्ट हुँदै आईटीका विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

 

आईटीका विद्यार्थीले मुख्य विषय बनाइ पढेको विषय र कामको क्षेत्र नै कम्प्युटर इन्जिनियरिङका विद्यार्थीलाई सुम्पिएपछि आईटी क्षेत्रका विद्यार्थी आन्दोलित बने । नेपाल सरकारले समृद्धि र विकासको सपना त बाँडेको छ । तर आईटीका विद्यार्थीको दक्षता प्रयोग नगरी त्यसतर्फ जान सम्भव नभएको आन्दोलित विद्यार्थीहरु बताउँछन् ।

 

त्यसो त, सकारले आईटी विद्यार्थीको क्षेत्राधिकार नै कटौती गरिदिएपछि युवाहरु विदेश पलायन हुन बाध्य हुने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । यही सन्दर्भमा आईटी अध्ययन तथा क्षेत्रका दुई विज्ञ नवराज पौडेल र सुशान्त पौडेलसँग नेपालआजले अन्तरवार्ता गरेको छ । नवराज पौडेल त्रिविवि अन्तरगत केन्द्रीय कम्प्युटर विज्ञान विभागका प्रमुख हुन् भने सुशान्त कम्प्युटर विज्ञान अल्मुनाई संघका अध्यक्ष हुन् । उनीहरुसँगको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ:


नवराज पौडेल :
प्रमुख, केन्द्रीय कम्प्युटर विज्ञान विभाग त्रिवि

 

त्रिभुवन विद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागको स्थापना १६ वर्ष अघि सन् २००२ मा स्थापना भएको थियो । विदेशबाट  कम्प्युटर इन्जिनियरिङ गरेर नेपाल आउने धेरै छन् । कम्प्युटर इन्जिनियरले नै सबै आईटी क्षेत्रको काम गर्छन् भन्ने मानिसहरूको बुझाई छ । तर यथार्थ त्यस्तो होइन । कामको संरचनाअनुसार आईटी क्षेत्र र कम्प्युटर इन्जिनिररिङ फरक क्षेत्र हो ।

 

कम्प्युटर इन्जिनियरले विशेषगरी हार्डवेयर सम्बन्धी कामहरू गर्छन् । कम्प्युटर डिजाइन, कम्प्युटरका पार्टहरू डिजाइन तथा विकास गर्ने हो । तर आईटी पढेकाहरूले सफ्टवेरको सिस्टम डिजाइन गर्ने, विकास गर्ने तथा सिस्टमहरूको प्रयोग गर्ने काम गर्छन् । तसर्थ कामका कामका प्रकृति दुबैको फरक फरक गर्छन् । एकले अर्काको सामान्य कामहरू गर्नसके पनि फोकस भने हुन सक्दैन ।

 

अहिलेको समय भनेको सूचना प्रविधिको युग हो । कुनै काम गर्न १० जनाको आवश्यक पर्ने ठाउँमा सूचना प्रविधिको प्रयोग गर्नाले २ काम गर्न सकिन्छ । त्यसैले सरकारलाई सूचना प्रविधिको बढी आवश्यकता छ । नेपाल सरकारले नागरिक तथा व्यवसायीलाई दिने सेवा सूचना प्रविधिमार्फत दियो भने सजिलो हुन्छ ।


अहिले आइटीका विद्यार्थीहरू आन्दोलित बनेका छन् । किनकी कम्प्युटर अधिकृतको २० भन्दा धेरै दरबन्दी कटाएर सरकारले कम्प्युटर इन्जिनियरमा थपेर प्रकिया अगाडी बढाएको भन्ने थाह पाएपछि उनीहरू आन्दोलित बनेका हुन् । नेपाल सरकारलाई कम्प्युटर इन्जिनियर भन्दा हालको परिस्थितिमा कम्प्युटर अधिकृत तथा सूचना प्रविधि अधिकृतको आवश्यक छ ।

 

अहिले स्थानीय सरकारले प्रत्येक तहमा आइटी अफिसर राखेको छ । सरकारले मन्त्रालयको नाम परिवर्तन गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय राखेको छ । यसअर्थमा बुझ्न सकिन्छ कि सरकारलाई सूचना प्रविधिको बढी आवश्यक छ । यसरी सूचना प्रविधि भन्दै जाने तर यही विषय पढेको विद्यार्थीहरूलाई बाइपास गरेर जानु गलत हो । सूचना प्रविधिलाई चासोमा लिने तर त्यही पढेको विद्यार्थीलाई भने सरकारी काममा रोकिरहेकको छ ।


आईटी क्षेत्र भनेको यस्तो क्षेत्र हो जुन नेपालमै बसेर पनि विदेशको काम गर्न सकिन्छ । नेपालमा पनि ठूला ठूला सफ्टवेयर कम्पनी छन् । यसमा धेरै अवसर छन् । यो विषय जुन देशमा पढे पनि एउटै कोर्स हुन्छ । त्यसैले यस विषय पढ्ने विद्यार्थीरू निराश हुनु पर्ने अवस्था छैन । 

 

सरकारले स्मार्ट सिटी स्मार्ट भिलेज बनाउने भनेर जुन योजना थालेको छ । र नेपालको परिस्थितिमा त्यो निकै कठिन कुरा हो । किनकी ग्रामिण भेगहरू कम्प्युटर नै चलाउन नजान्ने धेरै छन् । पहिले त सबैमा कम्प्युटरको ज्ञान नै हुनुपर्यो । स्मार्ट सिटीको पनि धेरै प्रकिया छन् । मलाई लाग्छ २÷४ वर्षमै स्मार्ट भिलेज, स्मार्ट सिटी बन्नु असम्भव कुरा हो ।


सुशान्त पौडेल
अध्यक्ष, कम्प्युटर विज्ञान अल्मुनाई संघ

 

नेपाल सरकारको मन्त्रालय र केन्द्रिय विभाग अन्तर्गत कम्प्युटर अधिकृतको २९ वटा दरबन्दी कटौती गरेर इन्जिनियरिङमा थप गरेको छ । जसले गर्दा देशैभरी सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई हस्तक्षेप र भविष्य अन्योलमा पार्ने काम भइरहेको छ । यस्तो हुनु हुँदैन । त्यसैले हामीले हाम्रो आवाज उठाइरहेका छौँ । यो कुरा नेपाल सरकारले सुन्छ भन्ने हाम्रो विश्वास हो ।

 

अबको विकास सूचना प्रविधि विना असम्भव छ । नेपाल सरकारको सम्पुर्ण काम हेर्ने हो भने त्यो सबै सूचना प्रविधि अन्तर्गत पर्छ । आईटी सम्बन्धी अध्ययन गरेका सबै विद्यार्थी कोही पनि अवसरबाट बञ्चित हुनु हुँदैन । त्यसैले हामीले आन्दोलनको कार्यक्रम बनायौँ ।


सरकारले सूचना अधिकृतको आह्वान गरेको थियो । जसमा योग्य उमेद्वारमा चाहीँ कम्प्युटर इन्जिनियरलाई राखेको थियो । दुबैलाई समायोजन गर्नुपर्ने हो तर त्यसरी सरकारले समायोजन गरेन । यो कुरा थाह पाएपछि हामी देशव्यापी आन्दोलनमा गयौँ । जसबाट बाध्य भएर सरकारले निर्णय परिवर्तन गर्नुपर्यो ।

 

कम्प्युटर इन्जिनियरिङ र सूचना प्रविधि पदलाई समायोजन गरेर सूचना अधिकृत बनाइयोस् र सम्पुर्ण सूचना प्रविधिका स्नातक गरिरहेका विद्यार्थीहरूलाई अवसरबाट वञ्चित नगरियोस् भन्ने हाम्रो माग हो । यो काम दुबै तर्फका विद्यार्थीहरूले गर्न सक्छन् ।

अान्दाेलन अार्इटी नवराज पाैडेल सुशान्त पाैडेल

विशेष