मुख्य समाचार देश

सात स्थानमा सुरुङ निर्माण गरिने

सात स्थानमा सुरुङ निर्माण गरिने

काठमाडाैं । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणको विषय उल्लेख गरिएको हो ।

 

भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चालनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आर्थिक वर्ष पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ ।

 

सो सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।

 

यस्तै बजेटमा काठमाडौँलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ । साथै, बुटवल सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा खण्डमा पनि सुरुङमार्ग निर्माण गरिने भएको छ ।

 

अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, विपी लोकमार्गको खुर्कोट–चियाबारी, विपी नगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्डमा सुरुङमार्ग निर्माणका लागि सर्वेक्षण गरी आवश्यक निर्माण प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको छ ।

 

त्यस्तै, जटिल प्रकारका सुरुङ निर्माणका प्रयोग हुने उच्च प्रविधिका सुरुङ खन्ने मेसिन, एवं पूर्वाधार निर्माणमा प्रयोग हुने अन्य उपकरणसम्बन्धी सेवा उपलब्ध गराउन र ठूला आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन एवं निर्माणको समेत काम गर्न निजी क्षेत्रको समेत संलग्नतामा पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गर्ने सरकारको तयारी छ ।

 

पर्यटकीय सम्भाव्यस्थल आसपास निर्माण हुने राजमार्गका पुलहरु कलात्मक बनाउन तथा रणनीतिक पूल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न पाँच अर्ब २४ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ । नयाँ पत्रिकाबाट ।

डा.युवराज खतिवडा सुरुङमार्ग निर्माण बजेट वक्तव्य

विशेष