एमालेले जस्तो सरकारलाई अप्ठेरो पार्दैनौंः गगन थापा
गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसले विगतका प्रतिपक्ष जस्तो कांग्रेसले सरकारलाई असहयोग नगर्ने बताएका छन् ।
०४८ सालमा एमाले संसदमा खाली सरकारलाई अप्ठ्यारो मात्रै पार्ने गरेको सम्झिदै थापाले एमालेले जस्तो सरकारलाई असहयोग गर्ने कांग्रेसको चरित्र नभएको स्पष्ट पारेका हुन् ।
‘राम्रा कामलाई हामीले सहयोग गछौं,’ उनले भने,’संविधान र संघीयताको कार्यान्वयन, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको छ ।’
कांग्रेस गुल्मीले संचालन गरेको ५० औ दिने महाअभियानलाई सफल बनाउन बिहीबार गुल्मी आएका नेता थापाले सरकारले गलत काम गरे ठीक ठाउँमा ल्याउने जिम्वारी पनि कांग्रेसकै भएको बताए ।
‘सरकार बरालियो भने ठीक ठाउँमा ल्याउने जिम्मेवारी नेपाली कांग्रेसको हो ।’ उनले भने ।
उनले संसदमा प्रतिपक्षको डिउटीको जिम्मेवारी कांग्रेसले पाएकाले सरकार जहाँ चुक्छ त्यही खबदारी गर्ने बताए ।