मुख्य समाचार देश

मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा, २ दिन नेपाल बसार्इँ

मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा, २ दिन नेपाल बसार्इँ

नेपाल र भारतले शुक्रवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेका छन् । मोदी भारतको पटना हुँदै आगामी शुक्रवार (२८ वैशाख) जनकपुरबाट भ्रमणको शुरुवात गर्दैछन् ।

 

प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाले बेग्लाबेग्लै नागरिक अभिनन्दन गर्ने तय भएको छ । मोदीले आगामी शनिबार बिहान मुक्तिनाथ मन्दिर पुगेर पूजाअर्चना गर्ने पनि तय भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल भ्रमणमा जान लागेका छन् । उनीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विजय केशब गोखले, विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख सुधाकर दलेला लगायतका अधिकारी साथमा हुनेछन् ।


प्रधानमन्त्री मोदी २८ वैशाख बिहान जनकपुर पुग्नेछन् । जनकपुरस्थित जानकी मन्दिरमा प्रधानमन्त्री ओलीले मोदीको स्वागत गर्नेछन् । मन्दिरमा विशेष पूजा अर्चनापछि मोदीको सम्मानमा जनकपुर उपमहानगरपालिकाले नागरिक सम्मान गर्ने कार्यक्रम छ जहाँ मोदीले मुख्य बक्ताका रुपमा नेपाल भारत सम्बन्धबारे सम्बोधन गर्नेछन् । त्यहाँ प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।


२८ वैशाखमा मोदी काठमाडौं पुग्नेछन् । उनलाई टुंडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाको टोलीले सैनिक गारत सम्मान (गार्ड अफ अनर) दिनेछ । टुंडिखेलमा गार्ड अफ अनर पाउने उनी दोस्रो प्रधानमन्त्री हुनेछन्, यसअघि पाकिस्तानका प्रधानमन्त्री सहिद अब्बासी आउँदा टुंडिखेलमा उनको सम्मानमा सेनाले गार्ड अफ अनर दिएको थियो ।


मोदीले राष्ट्रपति भवन शितलनिवासमा राष्टपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही दिन परराष्टमन्त्री प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । २८ वैशाखमै दुवै प्रधानमन्त्रीबीच औपचारिक प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । काठमाडौंबाट ओली र मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ ।


मोदी २९ वैशाखमा मुक्तिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । मुक्तिनाथबाट फर्केपछि मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । यसअघि प्रदेश सरकारले नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखे पनि नगरपालिकास्तरबाट सम्मान हुने भएको हो ।

नरेन्द्र मोदी नेपाल भ्रमण

विशेष