कांग्रेसमा अाज पदाधिकारी चयन हुने सम्भावना, को-को पर्दैछन् मनोनयनमा?
काठमाडौं । पदाधिकारी मनोनयनका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पदाधिकारी प्रस्तावका लागि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
निर्वाचन समीक्षासम्बन्धी बसेको एक महिने बैठक अन्त्य गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाकेका हुन् । यसअघि वैशाख १७ का लागि बोलाइएको बैठक पौडेल समूहले विरोध जनाएपछि स्थगित भएको थियो।
१३ औँ महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेका छैनन्। निर्वाचन समीक्षामा तीव्र आलोचना खेपेका देउवाले आफू निकटका नेताहरुलाई नै पदाधिकारीमा ल्याउने तयारी गरेका छन्। यसमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको विरोध छ।
'उपसभापतिमा विमलेन्द्र निधि'
उपसभापतिमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारको दाबी रहँदै आएको छ। सरकारमा रहँदा निधिले प्रहरी महानिरीक्षक नियुक्तिमा नसघाएकाले रुष्ट रहेका देउवाले निधिलाई उपसभापति नदिने कतिपयको अड्कल छ।
यसबारे निधिलाई केन्द्रीय समितिमै कतिपय सदस्यहरुले घोचपेच गरेका थिए। तर महाधिवेशनको गुण सम्झदै निधिलाई नै उपसभापति दिने तयारीमा देउवा रहेको एक केन्द्रीय सदस्यले बताए।
यता नेपाल लोकतान्त्रिक फोरम विलय गरी आमन्त्रित सदस्य भएका गच्छदारले पनि उपसभापतिको दाबी गर्दै आएका छन्। विधान अनुसार गच्छदार उपसभापतिका लागि योग्य छैनन्।
गच्छदारलाई चित्त बुझाउनकै लागि कांग्रेसमा विधान संशोधन गरी उपसभापतिको पद थप्ने तयारीमा देउवा लागेका छन्। विधान संशोधनका लागि विधान संशोधन समिति गठनको तयारीसमेत भएको छ।
समितिको सिफारि;मा कार्य सम्पादन समितिले विधान संशोधन गर्छ। गच्छदारले पार्टी प्रवेश गर्दाको सहमति स्मरण गराउँदै उपसभापति दाबी गरेपछि देउवा यस्तो तयारीमा लागेका हुन्।
महामन्त्रीमा पूर्णबहादुर खड्का
यता महामन्त्री छान्न पनि देउवालाई मुश्किल पर्ने देखिन्छ। ६०/४० देखाएर पौडेल पक्षले महामन्त्रीमा दाबी गरेपनि पौडेल पक्षको नाम देउवाको पोल्टामा अटेको छैन।
महामन्त्रीमा पूर्णबहादुर खड्काको नाम पहिलो नम्बरमा रहेको छ। खड्का सुशील कोइराला सभापति हुँदा देउवा पक्षबाट सहमहामन्त्री भएका थिए।यसैगरी डा. प्रकाशशरण महत, बालकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्कीको नाम पनि महामन्त्रीको लाइनमा छ।
देउवाले आफ्नो नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी दिएकाले कार्की भने पछि हट्ने देखिएको छ। त्यसैगरी खाँणलाई प्रतिनिधिसभामा प्रमुख सचेतकको जिम्मेवारी दिएर देउवाले थमथमाइसकेका छन्।
विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयनका लागि सभापतिले केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्ने व्यवस्था छ।
प्रस्तावित नाममा सहमति जुट्न नसके निर्वाचित केन्द्रीय सदस्यको बैठकले त्यसको टुंगो लगाउने प्रावधान विधानमा छ। यद्यपि विधान संशोधन गरी महामन्त्रीसमेत बढाउने तयारीमा देउवा टिम लागेको छ।
अबको केन्द्रीय समितिमा कम्तीमा पनि २ उपसभापति ३ महामन्त्री र ७ सहमहामन्त्री बनाउने तयारी देउवाको छ।
सहमहामन्त्रीमा महत कि विश्वकर्मा?
यता महामन्त्री नपाए सहमहामन्त्री पाउनु पर्ने अडानमा पौडेल पक्ष रहेको छ। पौडेल पक्षले मानबहादुर विश्वकर्माको नाम सभापति देउवालाई दिइसकेको छ। डा प्रकासशरण महत भने विधान संशोधनसम्म नपर्खने अवस्थामा छन्।
उनी सहमहामन्त्रीमै जाने अडानले पनि पौडेल पक्षलाई मनाउन गाह्रो भएको एक केन्द्रीय सदस्यले बताए। यसअघि सुशील कोइरालाले देउवा पक्षकालाई सहमहामन्त्री दिएको नजीर पेश गर्दै पौडेल पक्षले सहमहामन्त्री दाबी गरेको छ।