डा. भट्टराई र उपेन्द्र यादवलाई पनि समेट्दै प्रचण्ड, एकताको विकल्प कि बार्गेनिङ ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि भाषणको क्रममा भनेका थिए, हामी बृहत् एकताको गृहकार्यमा जुटेका छौं ।
एकता प्रक्रिया लम्बिनुको कारणबारे उनले यसो भनेका थिए । केही दिनपछि नै उनी एकताको लागि नयां पहल सुरु गरेका छन् ।
बाबुराम र उपेन्द्रलाई पनि सामेल गर्ने प्रयास
प्रचण्ड ले नेकपा एमालेसंग हुन लागेको एकता प्रक्रियामा नयां शक्तिका नेता डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि सामेल गराउने प्रयासमा छन् ।
यादव र भट्टराईसंग नियमित भेटमा रहेका उनले नयां शक्ति, फोरम वा अन्य साना पार्टीहरुलाई पनि एकता प्रक्रियामा सामेल गराउने योजना बनाएका हुन् ।
एकताको विकल्प
पेरिसडांडास्थित माओवादी पार्टी कार्यालयमा बसेको बिहीबारको बैठठकमै पनि प्रचण्डलाई अन्य नेताहरुले अर्को विकल्प पनि खोज्न सकिने सुझाव दिएका थिए ।
सोही अनुसार प्रचण्ड नयां शक्ति र फोरमका नेताहरुसंग वार्ता तिव्र बनाएका हुन् । एमालेसंगको एकता अन्योल भएको भनिए पनि प्रचण्ड आफू बलियो रुपमा प्रस्तुत हुन यस्तो योजना बनाएको बुझिएको छ ।
यही शिलशिलामा उनले शुक्रबार मात्रै डा. बाबुराम भट्टराई र उपेन्द्र यावदबीच आज भेटवार्ता गरेका छन् । दाहाल निवास खुमलटारमा उनीहरुबीच भएको वार्तामा एकताबारे गम्भीर छलफल भएको बताइएको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले नेपालआजसँग बताएअनुसार पछिल्लो भेटवार्तालाई विशेष महत्वका साथ हेरिएको छ ।
बार्गेनिङको लागि सजिलो
एमालेसँगको एकतामा माओवादीका नेताहरुले भन्दैआएको ५०–५० को भागबण्डाको कुरा अझै मिलिसकेको छैन । उक्त भागबण्डाको मागलाई बलियो बनाउन पनि प्रचण्डले यादव, भट्टराई लगायतलाई समेट्ने प्रयास गरेको बुझिएको छ ।
यसबाहेक एमालेसँग एकता नभएको खण्डमा नयाँ शक्ति, फोरम लगायत पार्टीहरुसँग बृहत एकता अभ्यास गर्ने भन्दै प्रचण्डले यस्तो योजना बुनेका हुन् ।
माओवादीका एक नेताले प्रचण्डलाई उदृत गर्दै भने, “नयां शक्ति र फोरमलाई पनि समेटेरै जाउँ अब” । प्रचण्डले हालै डा. भट्टराई र यादवसँग वार्ता गर्दैआएको विषय पनि सोही बृहत एकताको प्रयासको रुपमा ती नेताले ब्याख्या गरेका छन् ।
केपीलाई दबाब
एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरुले माओवादीलाई समान हैसियतमा स्वीकार नगर्ने अवस्था आएपछि नै प्रचण्डलाई आफ्नै पार्टीका थुप्रै नेताहरुले दबाब दिन थालेका थिए ।
यतिसम्म कि, एकताको विकल्प खोज्न समेत प्रचण्डलाई सुझाव र दबाब थियो । माओवादीका उच्चस्तरीय नेताहरुले कम्तिमा निरिह बनेर नजाने, जाने अवस्थामा पनि अली ठूलो समूह बनाएर आफू बलियो हुने गरी एकता गर्ने भन्दै प्रचण्डका निकटष्थहरुको निरन्तर प्रयास थियो ।
सोही अनुरुप प्रचण्डले एकतामा एमालेलाई दबाब दिनसक्ने गरी आफ्नो ठूलो समूह बनाएको माओवादी स्रोतले बतायो । माओवादीका एक पोलिटब्यूरो सदस्यले बताए अनुसार एकता नभएको अवस्थामा पनि अर्को बृहत एकता गर्ने भन्दै नयाँ डिजाइन को पहल भएको हो ।