कांग्रेसका चार नेताले भने, वामले देश र देउवाले पार्टी कब्जा गर्न खोजे
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका चार जना नेताबीच छलफल भएकाे छ । सभापति शेरबहादुर देउवाले बहुमतकाे दम्ब देखाएर पदाधिकारी मनोनयन गरेको भन्दै असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र नवीन्द्रराज जोशीबीच आइतबार अपरान्ह छलफल भएको हो ।
सिंहको निवास ठमेलमा भएको करीब २ घण्टा लामो छलफलमा देउवाविरुद्ध कसरी एकताबद्ध भएर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । सभापति देउवा पार्टी कब्जा गर्ने दिशातर्फ उन्मुख भएको निश्कर्षसहित त्यसविरुद्ध एकताबद्ध भएर अघि बढ्ने विषयमा चार नेता सहमत भएका छन् ।
सभापति देउवा पार्टी कब्जा गर्ने दिशातर्फ उन्मुख भएकाे र वाम गठबन्धन देश कब्जा गर्ने बाटोमा लागेकाे निश्कर्षसहित त्यसविरुद्ध एकताबद्ध भएर अघि बढ्ने विषयमा चार नेता सहमत भएकाे बैठकमा सहभागि एक नेताले नेपालअाजलार्इ बताए ।
‘कांग्रेस पदाधिकारी चयन विधिसम्मत गरिएन । न कुनै सहमति नै गरियो । पार्टी कब्जागर्ने रणनीति देखियो । यो पार्टीलाई विभाजनतिर लाने खालको भयो ।’ बैठकमा सहभागि ती नेताले भने, ‘वाम गठबन्धन देश कब्जा गर्न र शेरबहादुर देउवा पार्टी कब्जा गर्न तिर लागे । त्यसविरुद्ध एक भएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।’