माेदीकाे भ्रमणकाे स्वागतका लागि तयार पारिएकाे मञ्च हावाहुरीले ध्वस्त
जनकपुरधाम– जनकपुर क्षेत्रमा गएराति आएको हावाहुरीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका संरचनामा क्षति पुगेको छ । मोदीको स्वागतमा बाँस ठड्याएर बनाइएका जनकपुर बजार क्षेत्रका स्वागत द्वार तथा पण्डालहरू क्षतिग्रस्त भएका हुन्।
वर्षासँगै आएको हावाहुरीले मोदीको स्वागतका लागि संरचनामा क्षति पुगेपछि प्रदेश २ को सरकारले पुनः सबै संरचनाहरु निर्माण गरिने जनाएको छ । मोदीको स्वागत र अभिनन्दन गर्न लागिएको रंगभूमि९बाह्र बिगाहा० मैदानमा पानी जमेको छ। हावाहुरीले स्वागतद्वार भत्काए पनि अभिनन्दन स्थलमा भने क्षति भएको छैन ।
हावाहुरीका क्रममा पण्डाल निर्माणका लागि ल्याइएको समाग्री जोगाउने क्रममा केही मजदुर पनि समान्य घाइते भएका छन् । पछिल्लो दुई सातादेखि रंगभूमि मैदान सरसफाइ, जनकपुर नगर रंगरोगन र स्वागत द्वार निर्माण कार्यलाई तीव्र बनाइएको छ ।
पानी जमेका कारण भारतीय प्रधानमन्त्रीको जनकपुर आगमनको बेला तय गरिएका रुटको निर्माणकार्य समेत प्रभावित भएको छ। मोदीको जनकपुर भ्रमण हुन मात्र २ दिन मात्र बाँकी रहेको बेला राति आएको हावाहुरीले तयारीमा जुटेका प्रदेश सरकार तथा जनकपुर उपमहानगरपालिकालाई चुनौती थपेको छ।
यसैबीच मोदी भ्रमणको पुर्व तयारीका रुपमा दैनिक रुपमा भइरहेको सरसफाइलाई आज पनि निरन्तरता दिइएको छ । यहाँका निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरु सरसफाइमा जुटेका हुन् । बिहानैदेखि जनकपुरका विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले जनक चोक, जानकी चोक, राम चोक ,शिव चोक लगायतका स्थानमा सरसफाइ गरेका छन्।
जनकपुर स्वागत हावाहुरी माेदी भ्रमण