मुख्य समाचार समाज

अब नेपाल प्रहरीमा तीन, शसस्त्रमा दुई एआईजी मात्र

अब नेपाल प्रहरीमा तीन, शसस्त्रमा दुई एआईजी मात्र

काठमाडौं । नेपाल प्रहरीमा अब प्राविधिक बाहेक तीन जना मात्र एआईजी रहने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको दरबन्दी कटौतीको निर्णय गरेको सरकार प्रवक्ता गोकुल बास्कोटाले बताए । 

 

संघीय प्रहरी ऐनको मस्यौदा निर्माणका क्रममा रहेको गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको उनले जानकारी दिए । 

 

राजनीतिक नेतृत्वको भागवण्डा मिलाउने क्रममा कुनै समय प्राविधिकसहित १६ जनासम्म पुगेको थियो । सुशील कोइराला नेतृत्वको सरकारले भागवण्डा मिलाउन एआईजीमा ९ जनालाई बढुवा गरेको थियो । त्यसमा नपरेका चार जनाले हालेको मुद्दामा सर्वोच्चले बढुवा गर्न आदेश दिएपछि १३ जना पुगेका थिए ।

 

त्यसबेला एआईजी भएकाहरुले अवकास पाएपछि हाल प्राविधिकतर्फका एक जना मात्र कार्यरत छन् । अहिले नयाँ बढुवा भएको छैन । मन्त्रिपरिषद्ले दरबन्दी तोकेपछि बढुवाको बाटो पनि खुलेको छ ।

 

यसैगरी मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी कटौती गरेको छ । अब त्यहाँ दुई जना मात्र एआईजी हुनेछन् । गृह मन्त्रालयले तीन एआईजी राख्ने प्रस्ताव गरेको थियो । हाल सशस्त्र प्रहरीमा ८ जना बहालवाला छन् । एक समय ११ जनासम्म्म पुगेका थिए ।

एआईजी नेपाल प्रहरीमा तीन

विशेष